पूर्वी जापानमा कीर्तिमानी वर्षाको बितण्डा, नारिता विमानस्थलमा हजारौँ यात्रु अलपत्र

आप्रवासन आप्रवासन

 

पूर्वी जापानमा कीर्तिमानी वर्षाले बितण्डा मच्चाएको छ। चिबा प्रिफेक्चरमा परेको मुसलधारे वर्षाका कारण अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ। 

वर्षासँगै आएको बाढीले सडक तथा रेल यातायात अवरुद्ध हुँदा नारिता विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन्। बाढीका कारण २० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

सप्ताहन्त हुँदै गर्दा आएको भीषण वर्षाले चिबा क्षेत्रमा जनजीवन ठूलो मात्रामा प्रभावित पारेको छ। पछिल्लो २४ घण्टामा चिबाका केही स्थानमा ३६० मिलिमिटरभन्दा बढी वर्षा भएको अधिकारीहरूले बताएका छन्। जापानको मौसमसम्बन्धी अधिकारीहरूका अनुसार चिबामा २४ घण्टामा ३६७ मिलिमिटर वर्षा भएको थियो। यो सन् २०१३ को अक्टोबरमा कायम भएको ३०९ मिलिमिटरको अघिल्लो २४ घण्टे वर्षाको रेकर्डभन्दा धेरै हो।चिबा प्रिफेक्चरका गभर्नर तोशिहितो कुमागाईले यो अवस्था अत्यन्त असामान्य भएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै आफूले विगतमा धेरै प्राकृतिक विपद्को सामना गरे पनि यस्तो अवस्था कहिल्यै अनुभव नगरेको उनले बताए।

लगातारको मुसलधारे वर्षाले चिबाका सडक, रेलमार्ग र आवासीय क्षेत्रहरूमा पानी पसेको छ। कतिपय स्थानमा सवारीसाधन पानीमा डुबेका छन् भने सडकहरू नदीजस्तै बनेका छन्। सरकारी टिभी च्यानल एनएचकेले चिबाका अधिकारी तथा प्रहरीलाई उद्धृत गर्दै मृतकमध्ये कम्तीमा एक जना डुबेको सवारीसाधनभित्र फसेको अवस्थामा भेटिएको जनाएको छ। उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेकाले प्रभावितको सङ्ख्या अझै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

भारी वर्षाको ठूलो असर नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिएको छ। सडक र रेल यातायात अवरुद्ध भएपछि करिब ७ हजार यात्रु बिहीबार राति विमानस्थलमै अलपत्र परेका थिए। जापानको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक नारितामा यात्रुहरूको ठूलो भिड जम्मा भएपछि विमानस्थलको अवस्था अस्तव्यस्त बनेको थियो। 

विमानस्थल प्रशासनले यात्रुहरूलाई सुत्नका लागि स्लिपिङ ब्याग, पानी र खाजा बाँडेको थियो। सयौँ यात्रुले विमानस्थलमै रात बिताएका थिए। शुक्रबार अधिकांश उडान सामान्य रूपमा सञ्चालन हुने अपेक्षा गरिएको भए पनि विमानस्थलसम्म पुग्ने यातायात सेवा प्रभावित हुँदा यात्रुहरूलाई ठूलो समस्या परेको विमानस्थलका प्रवक्ताले जनाएका छन्।