रुस र युक्रेन बिच सन् २०२२ को फेब्रुअरीबाट सुरु युद्ध अझै जारी छ । युद्धका क्रममा दुवैतर्फ एक लाख बढी सैनिकको मृत्यु भएको, लाखौँ घाइते भएको र हजारौँ बेपत्ता भएको अपुष्ट समाचार छ ।
रुस-युक्रेन द्वन्द्वमा परी मारिने नेपालीको सङ्ख्या समेत यकिन छैन । हालसम्म ९० नेपालीको मृत्यु भएको र सय बढी बेपत्ता रहेको अनुमान छ । यस्तै, कैयौँ नेपाली युद्ध बन्दीका रूपमा रहेको आङ्कलन छ ।
तर एउटा कुरा भने निश्चित छ, युद्धको प्रत्यक्ष वा अप्रत्यक्ष असर समग्र विश्वलाई नै परिरहेको छ । यस्तोमा नेपालसहित विश्वका अधिकांश देश जारी युद्ध रोक्नुपर्ने पक्षमा छन् । र, त्यसको अग्र मोर्चामा छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।
आफू निर्वाचित भए २४ घण्टाभित्र रुस-युक्रेन युद्ध रोक्ने वाचा ट्रम्पले अमेरिकी मतदातासँग गरेका थिए । आफ्नो चुनावी दाबी अनुरूप युद्ध रोक्न नसके पनि युद्ध बिरामका लागि उनी निरन्तर प्रयासरत छन् ।
यस क्रममा ट्रम्पले आफ्ना विशेष दूत रुस पठाइसकेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग २ पटक फोन संवाद गरिसकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकी र युरोपेली नेताहरूसँग पनि पटक पटक ट्रम्पको कुराकानी भएको छ ।
यसैबिच रुस र युक्रेन बिच वार्ताहरू समेत भए । तर पनि कुनै पनि प्रयासले युद्ध रोक्न सकेका छैनन् ।
तर पछिल्ला केही गतिविधिहरूले भने युद्ध मत्थर हुनुका साटो झन् चर्किन सक्ने सङ्केत गरेका छन् ।
केही दिन यता ट्रम्प पुटिनसँग निराशसँगै आक्रोशित बन्दै गइरहेका छन् । पुटिन पछिल्लो समय पागलझैँ बनेको र अनावश्यक रूपमा मानिसहरू मार्न अग्रसर रहेको ट्रम्पको आरोप छ। ट्रम्पले पुटिनलाई आगोसँग नखेल्न र रुसको पतन निम्त्याउने काम नगर्न समेत भन्न भ्याएका छन् ।
ट्रम्पको यो चेतावनीले अमेरिकाले रुसमाथि थप नाकाबन्दी गर्ने र युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउन सक्ने सङ्केत गरेको छ ।
ट्रम्पले रुस-युक्रेन युद्धलाई जेलेन्सकी, पुटिन र जो बाइडेनको युद्ध भएको भनेर व्याख्या समेत गर्न थालेका छन् । यसले शान्तिको प्रयासलाई लिएर उनको दिक्दारी झल्काउँछ ।
उता, उस्तै दिक्दारीपूर्ण र आक्रामक अभिव्यक्ति युरोपेली नेताहरूबाट समेत आउन थालेको छ । युरोपेली नेताहरूले रुसलाई नि:सर्त एक महिने युद्ध बिराममा सहमत हुन लगातार दबाब दिइरहेका छन् । तर रुस सो दबाबबाट टसमस भएको छैन ।
यस पृष्ठभूमि माझ जर्मनीका चान्सलर फेड्रिक मर्जले युक्रेनलाई युके, फ्रान्स, जर्मनी र अमेरिकाले दिने हतियारमा यसअघिको दूरीसम्बन्धी प्रतिबन्ध हटाइएको घोषणा गरेका छन् । अब युक्रेनले रुसभित्र लामो दुरीको लक्ष्यमाथि प्रहार गर्न सक्नेछ ।
यस कदमलाई रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोवले खतरनाकको संज्ञा दिएका छन् । साथै, यस्तो निर्णयले युक्रेनसँगको शान्ति प्रक्रियालाई पूर्ण रूपमा बाधा पुर्याउने उनको चेतावनी छ ।
पछिल्ला यी तमाम गितिविधिहरुले युद्धलाई लिएर रुस र युक्रेनसँगै पश्चिमा शक्ति राष्ट्रहरूको रणनीति बदलिन खोजेको सङ्केत गरेका छन् । यदि त्यसो भए रुस-युक्रेन द्वन्द्व थप चर्किन सक्ने देखिन्छ ।