ड्रोन बितिक्कै यसको के-के काम गर्छ भन्ने सोच आउँछ भिडियो लिने कतै डेलिभरी सेवा, नक्सांकन र सर्भे यस्तै तर ड्रोनको अर्को काम पनि थपिएको छ । भारतमा ड्रोनले रेल सरसफाइको जिम्मेवारी पनि पाएको छ ।
अब रेल स्टेशन सफा गर्न मानिस हैन, ड्रोन उड्छ । भारतीय रेलवेले सफाइ अभियानमा नयाँ प्रविधि भित्र्याउँदै कामाख्या रेलवे स्टेशनमा ड्रोन प्रयोग गरेर रेल र स्टेशन परिसर सफा गर्न थालेको छ ।
यस्तो प्रविधिको प्रयोग भारतको रेलवे इतिहासमै पहिलोपटक भएको हो । ड्रोनको सहयोगमा स्टेशनको माथिल्लो भाग, रेलको छाना, पहुँच कठिन कुनाहरू सजिलै सफा गर्न थालिएको छ। यसले मानव स्रोतमा पर्ने दबाब कम गर्ने मात्र होइन, समय पनि बचाउनेछ ।
सफाइका लागि ड्रोनमा विशेष सफाइ उपकरण तथा केमिकल स्प्रे प्रणाली जडान गरिएको छ, जसले फोहोर हटाउनका साथै निसंक्रमण पनि गर्ने काम गर्छ । रेलवे अधिकारीहरूका अनुसार ड्रोन सफाइ प्रणालीले हरेक कुनाको अनुगमन गर्न, तत्काल फोहोर हटाउन र सफाइको स्तरमा गुणात्मक सुधार ल्याउनेछ ।
रेलमा ड्रोनको प्रयोगले ट्र्याक्सन लाइन, छाना र माथिल्लो सतहमा सजिलै पहुँच हुने, कम समयमै उच्चस्तरीय सफाइ, सफाइको अनुगमन र विश्लेषण एकैसाथ हुन्छ । अझ यात्रुहरूको स्वास्थ्यमा समेत यसको सकारात्मक प्रभाव पर्ने छ ।
भारतीय रेलवेले यो प्रविधि देशभर फैलाउने योजना बनाइसकेको छ । कामाख्या स्टेशनबाट सुरु भएको ड्रोन सफाइ अभियानले रेल सेवा प्रयोग गर्ने लाखौं यात्रुका लागि सरसफाइको नयाँ परिभाषा ल्याउनेछ।