तिब्बतदेखि नेपालसम्म पग्लिँदै हिमनदी र ‘रक ग्लेसियर’, बढाइरहेछ जोखिम

आप्रवासन आप्रवासन
 

 

 हिमाललाई सामान्यतया हिउँ र चट्टानले ढाकिएको प्राकृतिक भू–दृश्यका रूपमा हेरिन्छ । तर हिमालय र तिब्बती पठार वास्तवमा एसियाको विशाल प्राकृतिक ‘जलभण्डार’ हो, जहाँ हिमनदी, स्थायी रूपमा जमेको भूमि, हिउँ र रक ग्लेसियरमा ठुलो परिमाणमा पानी सञ्चित छ । यही जमेको पानी क्रमशः पग्लिएर नदी प्रणालीमा पुग्दा नेपालसहित दक्षिण एसियाका करोडौं मानिसको खानेपानी, कृषि, जलविद्युत् र पारिस्थितिक प्रणालीलाई आधार प्रदान गर्छ ।

तर पछिल्ला दशकमा जलवायु परिवर्तनका कारण यो प्राकृतिक प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको छ । हिमनदीको क्षेत्रफल र बरफको मात्रा घट्दै गएको छ, हिमतालहरू विस्तार भइरहेका छन् र हिमाली क्षेत्रमा बाढी, हिमताल विस्फोट, हिम पहिरो तथा अन्य भू–जोखिम बढिरहेका छन् । नेपालका लागि यो समस्या अझ संवेदनशील छ, किनभने देशका अधिकांश ठुला नदी प्रणाली हिमालयको हिम तथा हिमनदीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । 

तिब्बती पठारमा भेटियो अनुमानभन्दा धेरै ‘रक ग्लेसियर’

हालै प्रकाशित साइन्स बुलेटिनमा प्रकाशित गरिएको एक अध्ययनले तिब्बती पठारको जमेको जलभण्डारबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । चिनियाँ वैज्ञानिकहरूले पहिलोपटक सम्पूर्ण तिब्बती पठारमा रक ग्लेसियरको व्यापक सूची तयार गर्दै १ लाख ३० हजारभन्दा बढी रक ग्लेसियर पहिचान गरेका छन् । अध्ययनले तिब्बती पठारमा रक ग्लेसियरको संख्या यसअघि विश्वका विभिन्न क्षेत्रमा पहिचान गरिएका कुल रक ग्लेसियरको संख्या भन्दा बढी हुन सक्ने देखाएको छ । 

ग्लेसियर सामान्य हिमनदीजस्तो खुला बरफको विशाल थुप्रो होइन । बरफ, चट्टान र माटोको मिश्रणले बनेका यी संरचना बाक्लो ढुंगा तथा माटोको तहभित्र लुकेका हुन्छन् र अत्यन्तै बिस्तारै तलतिर सर्छन् । त्यसैले उपग्रहबाट समेत तिनलाई पहिचान गर्न कठिन हुन्छ । नयाँ अध्ययनले उच्च रिजोल्युसनको अप्टिकल इमेजरी, राडार डेटा, डिजिटल एलिभेसन मोडल र डीप–लर्निङ प्रविधिको प्रयोग गरेर तिब्बती पठारभरि यस्ता संरचनाको नक्सांकन गरेको हो । 

अध्ययनका अनुसार यी रक ग्लेसियरभित्र रहेको बरफले करिब ९२ देखि १८६ घन किलोमिटर पानीबराबरको जलभण्डार प्रतिनिधित्व गर्छ । यसको अर्थ तिब्बती पठारमा परम्परागत हिमनदीबाहेक पनि अहिलेसम्म पर्याप्त ध्यान नदिइएको ठुलो ‘ठोस जलभण्डार’ रहेको छ । 

वैज्ञानिकहरूका अनुसार, ती क्षेत्रमा जहाँ परम्परागत हिमनदी तीव्र रूपमा पग्लिरहेका छन् वा हिमनदी नै छैनन्, रक ग्लेसियरबाट हुने अत्यन्तै ढिलो पानी आपूर्ति दीर्घकालीन नदी प्रवाह र पारिस्थितिक प्रणलीका लागि सोचेभन्दा महत्त्वपूर्ण हुन सक्छ । 

तिब्बतको परिवर्तन नेपालका लागि किन महत्त्वपूर्ण ?

तिब्बती पठारलाई ‘एसियन वाटर टावर’ भनिन्छ । यस क्षेत्रमा सञ्चित हिउँ, हिमनदी र स्थायी रूपमा जमेको पानीबाट एसियाका प्रमुख नदी प्रणालीहरू प्रभावित हुन्छन् । नेपालका नदीहरू पनि यही विशाल हिमाली जलचक्रसँग जोडिएका छन् । यसको अर्थ तिब्बती पठारमा हुने परिवर्तनलाई नेपालले केवल छिमेकी देशको वातावरणीय विषयका रूपमा हेर्न सक्दैन । हिमनदीको तीव्र पग्लाइ, हिमतालको विस्तार, रक ग्लेसियरको गति तथा स्थायी जमेको भूमि पग्लिने प्रक्रियाले सीमापार नदीको बहाव र हिमाली विपद्को जोखिममा असर पार्न सक्छ । 

नयाँ रक ग्लेसियर अध्ययनले पनि यी संरचना केवल पानीको भण्डार मात्र नभएको देखाएको छ । रक ग्लेसियर निरन्तर बिस्तारै सर्ने भएकाले तिनको गति नदी उपत्यका वा सडकजस्ता संरचनासँग जोडिँदा नदी अवरुद्ध हुने, जमिनमा विकृति आउने र मलबे बग्ने जस्ता जोखिम उत्पन्न हुन सक्छन् । नेपालको उत्तरी हिमाली क्षेत्रमा यस्ता भू–आकृतिक परिवर्तनको प्रत्यक्ष निगरानी कठिन छ । त्यसैले तिब्बती पठारको विस्तृत रक ग्लेसियर नक्सांकन नेपालका लागि पनि उपयोगी वैज्ञानिक आधार बन्न सक्छ । यसले सीमावर्ती हिमाली क्षेत्रमा पानीको दीर्घकालीन उपलब्धता र सम्भावित भू–जोखिमको मूल्यांकन गर्न सहयोग पुर्‍याउन सक्छ ।

नेपालको हिमनदीमा देखिँदै गएको तीव्र परिवर्तन

नेपालमा हिमनदीको अवस्था पनि चिन्ताजनक छ । २०२३ मा रिजनल इन्भाइरोमेन्टल चेन्जमा प्रकाशित एक समीक्षा अध्ययनले नेपालमा तापक्रम वृद्धिको प्रवृत्ति विभिन्न क्षेत्रमा ०.०२ देखि ०.१६ डिग्री सेल्सियस प्रतिवर्षसम्म रहेको र हिमनदीको क्षेत्रफल, बरफको भण्डार तथा हिमनदीको सन्तुलनमा नकारात्मक परिवर्तन देखिएको जनाएको छ । 

अध्ययनअनुसार नेपालका हिमनदीहरूले वार्षिक रूपमा करिब ४.२९ घन किलोमिटर बरफको आयतन गुमाइरहेका छन् । पछिल्लो करिब ३० वर्षमा नेपालका हिमनदीको कुल बरफ भण्डारमा करिब १२८.८४ घन किलोमिटर कमी आएको अध्ययनको निष्कर्ष छ । यसै अवधिमा हिमतालको विस्तार पनि तीव्र भएको पाइएको छ । 

यस अध्ययनले नेपालमा हिमताल विस्फोटजन्य बाढीको जोखिम पनि गम्भीर रहेको देखाएको छ । शोधकर्ताहरूले नेपालमा ३९ वटा हिमतालसँग सम्बन्धित ४५ वटा ऐतिहासिक न्ीइँ घटना पहिचान गरेका छन् । हिमनदी पग्लिँदै जाँदा पुराना हिमताल विस्तार हुने र नयाँ हिमताल बन्ने प्रक्रियाले यस्तो जोखिम थप बढाउन सक्छ । 

‘धेरै पानी’ र ‘पानीको अभाव’ दुवैको जोखिम

हिमनदी संकटको सबैभन्दा जटिल पक्ष के हो भने यसको असर एकैपटक एउटै दिशामा हुँदैन । सुरुमा हिमनदी तीव्र रूपमा पग्लिँदा नदीमा पानीको मात्रा बढ्न सक्छ । यसले बाढी तथा हिमताल विस्फोटको जोखिम बढाउँछ । तर लामो समयसम्म हिमनदीको बरफ भण्डार घट्दै गएपछि नदीमा हिमनदीबाट आउने पानी कम हुन सक्छ । नेपालको लाङटाङ क्षेत्रमा गरिएको जलवायु–जलविज्ञानसम्बन्धी अध्ययनले तापक्रम र वर्षा दुवै बढ्ने अवस्थामा हिमनदीको क्षेत्रफल घट्दै जाने र नदीको बहावमा वर्षा तथा बरफ पग्लिने पानीको योगदानको स्वरूप परिवर्तन हुने देखाएको थियो । अध्ययनले भविष्यमा हिमनदीबाट आउने बहावको तुलनामा वर्षा र आधारभूत बहावको भूमिका बढ्दै जाने सम्भावना औंल्याएको छ । 

यस अध्ययनले नेपालका लागि एउटा महत्त्वपूर्ण विरोधाभास देखाएको छ । त्यो हो आज अत्यधिक पानी र बाढीको जोखिम, भोलि पर्याप्त पानी नहुने जोखिम ।

हिमनदी पग्लिनु केवल हिमाली समस्या होइन

नेपालमा हिमनदीको परिवर्तनलाई प्रायः हिमाली बस्ती र पर्यटनसँग जोडेर बुझ्ने गरिन्छ । तर यसको प्रभाव धेरै तलसम्म पुग्छ । हिमनदी र हिउँले नदीको मौसमी बहावलाई नियमन गर्छन् । कृषि, खानेपानी, जलविद्युत् र नदीमा आधारित पारिस्थितिक प्रणाली यस जलचक्रसँग जोडिएका छन् । नेपालमा गरिएको एक पुरानो तर महत्त्वपूर्ण अध्ययनले पनि जलवायु परिवर्तनले हिमनदीको आकार, नदीको बहाव र हिमतालको निर्माणमा प्रत्यक्ष प्रभाव पारिरहेको देखाएको थियो । अध्ययनले नेपालका हिमनदी संकुचन र हिमताल निर्माणलाई जलवायु परिवर्तनसँग जोड्दै कृषि, जैविक विविधता, स्वास्थ्य र स्थानीय जीविकोपार्जनमा समेत प्रभाव पर्न सक्ने उल्लेख गरेको छ ।

यसको अर्थ हिमनदीको संकटलाई केवल वातावरणीय मुद्दाका रूपमा होइन, जलसुरक्षा र विकासको मुद्दाका रूपमा बुझ्नुपर्ने हुन्छ ।

नेपालका लागि अर्को चुनौती : सीमापार हिमाली जोखिम

नेपालको उत्तरी सीमाभन्दा पर तिब्बती पठारमा हुने हिम तथा भू–आकृतिक परिवर्तनबारे पर्याप्त र नियमित सूचना प्राप्त गर्नु नेपालका लागि चुनौतीपूर्ण छ । हिमनदी, रक ग्लेसियर, स्थायी जमेको भूमि र हिमतालको अवस्था निरन्तर परिवर्तन भइरहँदा विपद् व्यवस्थापनका लागि सीमापार वैज्ञानिक सूचना अत्यन्त महत्त्वपूर्ण हुन्छ । सन् २०२६ मा इसिमोडले पनि हिन्दुकुश हिमालयका लागि क्षेत्रीय क्रायोस्फियर रणनीति सार्वजनिक गर्दै हिमनदी, हिउँ र स्थायी जमेको भूमिको दीर्घकालीन, मानकीकृत र नदी बेसिनअनुसारको निगरानी आवश्यक रहेको जनाएको छ । संस्थाका अनुसार हिमनदीको तीव्र क्षय, हिउँको बदलिँदो स्वरूप र स्थायी जमेको भूमि पग्लिँदा हिमताल विस्फोट, पहिरो, बाढी र अन्य विपद् बढिरहेका छन् ।

त्यसैले नेपालले चीनसँग सीमापार हिमनदी र हिमतालसम्बन्धी वैज्ञानिक तथ्यांक आदानप्रदानलाई अझ संस्थागत बनाउनुपर्ने देखिन्छ । विशेषगरी नेपालको उत्तरी सीमासँग जोडिएका जलाधारमा हिमतालको अवस्था, हिमनदीको गति, हिउँको मात्रा, रक ग्लेसियर तथा स्थायी जमेको भूमिको परिवर्तनबारे नियमित सूचना उपलब्ध भएमा बाढी तथा अन्य विपद्को पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।

संकटको गति पनि बढ्दैछ

२०२६ मा सार्वजनिक गरिएको इसिमोडको नयाँ मूल्यांकनले हिन्दुकुश हिमालयका हिमनदीको बरफ क्षय सन् २००० यता झन् तीव्र भएको देखाएको छ । १९९० देखि २०२० सम्म ज्प्ज् क्षेत्रमा हिमनदीको कुल क्षेत्रफल करिब १२ प्रतिशत घटेको र साना हिमनदीहरू सबैभन्दा तीव्र रूपमा संकुचित भइरहेको रिपोर्टले जनाएको छ । सन् २००० पछिको हिमनदी क्षयको गति अघिल्लो अवधिको तुलनामा दोब्बर भएको समेत इसिमोडले जनाएको छ । 

नेपालका लागि यो विशेष चिन्ताको विषय हो, किनकि साना हिमनदीहरू जलवायु परिवर्तनप्रति तुलनात्मक रूपमा बढी संवेदनशील हुन्छन् । तिनको तीव्र क्षयले उच्च हिमाली समुदायमा स्थानीय पानीको उपलब्धता घटाउनुका साथै हिमताल विस्फोटजस्ता जोखिम बढाउन सक्छ ।

अब नेपालले के गर्नुपर्छ ?

हिमनदी संकटको सामना गर्न नेपालले केही तत्कालीन र दीर्घकालीन कदम अघि बढाउन आवश्यक देखिन्छ । पहिलो, हिमनदी र हिमतालको निरन्तर निगरानी गर्नुपर्छ । उपग्रह प्रविधि, राडार, ड्रोन तथा स्वचालित मौसम केन्द्रको प्रयोग विस्तार गर्न आवश्यक छ । दोस्रो, सीमापार सूचना आदानप्रदानलाई प्राथमिकता दिनुपर्छ । तिब्बतमा रहेका हिमनदी, हिमताल र रक ग्लेसियरको अवस्था नेपालका नदी प्रणालीसँग सम्बन्धित भएकाले चीनसँग वैज्ञानिक तथ्यांक आदानप्रदानको संस्थागत संयन्त्र उपयोगी हुन सक्छ ।

तेस्रो, बाढीको पूर्वसूचना प्रणालीलाई अझ विस्तार गर्नुपर्छ । केवल हिमतालको जोखिम पहिचान गरेर पुग्दैन; त्यसबाट बाढी आएमा कुन नदीमार्ग हुँदै कति समयमा कुन बस्ती पुग्छ भन्ने आधारमा स्थानीय तहसम्म चेतावनी पुग्ने प्रणाली आवश्यक हुन्छ । चौथो, हिमनदीलाई जलविद्युत् र जलस्रोत योजनाको दीर्घकालीन पूर्वानुमानमा समावेश गर्नुपर्छ । आजको नदी बहावलाई आधार बनाएर मात्र आगामी दशकका जलविद्युत् तथा सिँचाइ योजना बनाउनु जोखिमपूर्ण हुन सक्छ । 

त्यसैगरी, हिमालयको संरक्षणलाई नेपाल, चीन, भारत, भुटान र पाकिस्तानलगायतका हिमाली तथा तल्लो तटीय देशबीचको साझा एजेन्डा बनाउनुपर्ने देखिन्छ । हिमनदीको परिवर्तन सीमामा रोकिँदैन; त्यसको प्रभाव नदीसँगै तलतिर बग्छ ।

तिब्बती पठारमा भेटिएको विशाल रक ग्लेसियर भण्डारले हिमाली क्षेत्रबारे हाम्रो बुझाइ अझै अधुरो रहेको देखाएको छ । यसले एकातर्फ हिमनदीबाहेक पनि ठुलो परिमाणमा जमेको पानी अस्तित्वमा रहेको देखाउँछ भने अर्कोतर्फ यी संरचना जलवायु परिवर्तन र भू–जोखिमको संवेदनशील सूचक पनि हुन् । 

नेपालका लागि मुख्य चुनौती यही दोहोरो जोखिम हो । छोटो अवधिमा बढी पानी र विपद्, दीर्घकालमा कम पानी र जलसुरक्षाको संकट । त्यसैले तिब्बती पठारदेखि नेपालको हिमालयसम्म फैलिएको क्रायोस्फियरलाई एउटै निरन्तर प्रणालीका रूपमा अध्ययन र निगरानी गर्न आवश्यक छ ।

हिमाल पग्लिनु केवल हिमालको समस्या होइन । यसको पानी तराईसम्म पुग्छ, यसको नदीले विद्युत् उत्पादन गर्छ, यसको बहावले कृषि धान्छ र यसको परिवर्तनले बाढीको जोखिम निर्धारण गर्छ । त्यसैले हिमनदी संरक्षण वास्तवमा नेपालको जलसुरक्षा, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा र विपद् सुरक्षाको संरक्षण पनि हो ।