रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।
पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत ड्रोन पठाएर सर्च अपरेसन चलाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीले उद्धार तथा खोजमा तालिम प्राप्त कुकुर पनि परिचालन गर्ने भएको छ । रसुवागढीस्थित भन्सार यार्ड र टिमुरेमा रहेको भन्सार कार्यालय क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरेर खोज अपरेशन सञ्चालन गर्न लागिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, सशस्त्र प्रहरीले रसुवाको भोटेकोशी नदी तटीय क्षेत्रमा आपतकालीन हेलिप्याड तयार गरेर खोज तथा उद्धारका लागि हेलिकप्टरहरूको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाएको छ ।