इन्डोनेसिया डढेलोको प्रदूषण मलेसिया, फिलिपिन्स र सिंगापुरसम्मै फैलियो

आप्रवासन आप्रवासन

इन्डोनेसियाका विभिन्न क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण दक्षिण पूर्वी एसियाका धेरै देश वायु प्रदूषणको चपेटामा परेका छन् । डढेलोबाट निस्किएको बाक्लो धुवाँ मलेसिया, सिंगापुर र फिलिपिन्ससम्म फैलिएको छ । प्रदूषण बढेपछि मलेसियाका विभिन्न राज्यमा विद्यालय बन्द गर्न आदेश दिइएको छ ।

सिंगापुरमा पनि वायु प्रदूषण उच्च भएको छ । त्यहाँ फर्मुला वान (एफवान) ग्रान्ड प्रिक्स दौड सुरु हुने दिनमै धुवाँले सहर ढाकेपछि जनस्वास्थ्य प्रति चिन्ता बढेको छ । यस वर्ष इन्डोनेसियामा लागेको डढेलो पछिल्ला वर्षको तुलनामा गम्भीरमध्ये एक मानिएको छ ।

वनस्पति र जंगल सफा गर्न किसान तथा कम्पनीहरूले अवैध रूपमा आगो लगाउने अभ्यासलाई डढेलो फैलिनुको प्रमुख कारण मानिएको छ । जमिन खाली गर्ने सस्तो उपायका रूपमा यस्तो विधि प्रयोग हुँदै आएको छ ।

इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म डढेलोसँग सम्बन्धित श्वासप्रश्वासका सङ्क्रमणका झन्डै एक लाख ७५ हजार घटना अभिलेख गरिएका छन् । विज्ञहरूका अनुसार यस वर्षको शक्तिशाली एल निनोका कारण खडेरी बढेकाले डढेलो फैलिन अनुकूल वातावरण बनेको हो ।

२४ घण्टामा झन्डै ४०० स्थानमा आगलागी

अमेरिकी अन्तरिक्ष निकाय नासाको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा इन्डोनेसियाभर झन्डै ४०० स्थानमा सक्रिय आगलागीका केन्द्र पहिचान भएका छन् । अघिल्लो दिन एक हजार १०० भन्दा बढी केन्द्र देखिएका थिए ।

आगलागीका केन्द्र घटे पनि लामो समयदेखि वर्षा नहुँदा फेरि डढेलो फैलिने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् । दक्षिण सुमात्रा र कालिमान्तान क्षेत्रमा आगलागी बढी देखिएको छ । कालिमान्तानका बासिन्दाले सामाजिक सञ्जालमा बाक्लो धुवाँले सडक र बस्ती ढाकेको भिडियो सार्वजनिक गरिरहेका छन् ।

स्थानीय बासिन्दाका अनुसार प्रदूषणका कारण सास फेर्न कठिनाइ, टाउको दुख्ने र दैनिक गतिविधिमा अवरोध हुने समस्या देखिएको छ । शिशुहरू पनि प्रभावित भएका छन् । स्थानीयका अनुसार, ‘प्रदूषणका कारण घरबाहिर निस्कन कठिन भएको र बाहिर जाँदा मास्क लगाउनुपर्ने अवस्था रहेको’ छ । प्रदूषण नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने तिनको माग छ ।

अर्थतन्त्रमा अर्बौँ डलरको क्षति हुने अनुमान

सेन्टर अफ इकोनोमिक एन्ड ल स्टडिजको अध्ययनअनुसार यस वर्ष इन्डोनेसियामा डढेलोका कारण झन्डै ३० ट्रिलियन रुपियाह अर्थात् एक अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्छ । आगोले सम्पत्तिमा पुर्‍याएको क्षति तथा व्यापार, कृषि, खाद्य सेवा र आवास क्षेत्रमा आर्थिक गतिविधि प्रभावित हुँदा यस्तो नोक्सानी हुने अनुमान गरिएको हो । स्वास्थ्य उपचारमा लाग्ने खर्च १०० ट्रिलियन स्थानीय मुद्राभन्दा बढी पुग्न सक्ने अध्ययनले जनाएको छ ।

मलेसियामा पनि प्रदूषणका कारण स्वास्थ्य उपचार खर्च बढ्नुका साथै बाहिर काम गर्ने श्रमिक प्रभावित भएका छन् । उद्योगहरूले हावा शुद्धीकरणका उपकरण खरिद गर्नुपर्दा उत्पादन लागतसमेत बढेको छ ।

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका अनुसार सन् २०१५ मा त्यहाँ देखिएको गम्भीर प्रदूषणले एक अर्ब ८० करोड सिंगापुर डलरभन्दा बढीको आर्थिक क्षति पुर्‍याएको थियो ।

इन्डोनेसियाका सहरमा प्रदूषण गम्भीर

वायु गुणस्तर निगरानी संस्था आईक्यूएयरका अनुसार सिंगापुरको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २१७ पुगेको थियो भने मलेसियाको राजधानी क्वालालम्पुरमा २१० थियो । यद्यपि, अर्को निगरानी प्रणाली एक्यूआई डट इनका अनुसार इन्डोनेसियाको कालिमान्तान क्षेत्रका साम्पित र पालाङ्काराया सहरमा प्रदूषण अझ उच्च थियो । साम्पितको एक्यूआई ३३४ र पालाङ्कारायाको २९७ पुगेको थियो ।

इन्डोनेसियामा बारम्बार दोहोरिने डढेलो र त्यसबाट फैलिने धुवाँ दक्षिण पूर्वी एसियाकै साझा वातावरणीय समस्या बनेको छ ।