भारत भ्रमणमा रहेका नेपाल सरकारका प्रधानमन्त्री बालेन शाहसमक्ष प्रवासी नेपालीहरूका साझा समस्या राख्न समय नपाएपछि भारतस्थित चार नेपाली सङ्गठनहरूले संयुक्त प्रेस वक्तव्यमार्फत ७ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली सङ्घ भारत र जनसम्पर्क समिति भारतले संयुक्त रूपमा उक्त ज्ञापनपत्र सार्वजनिक गरेका हुन् ।
सङ्गठनहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा प्रत्यक्ष भेट गरी भारतमा रहेका नेपालीहरूका समस्या उठान गर्ने योजनासहित ज्ञापनपत्र तयार पारिएको थियो । तर, प्रधानमन्त्रीको कार्यालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भेटका लागि समय उपलब्ध गराउन अस्वीकार गरेपछि प्रेस वक्तव्यमार्फत नै सबैको ध्यानाकर्षण गराइएको जनाइएको छ ।
२०४६ सालमा लोकतन्त्रको पुनर्बहाली भएयता भारतको औपचारिक भ्रमणमा आउने नेपाली प्रधानमन्त्रीहरूसमक्ष प्रवासी सङ्गठनहरूले आफ्ना विषय राख्दै आएको स्मरण गराउँदै उनीहरूले यसपटक पनि ७ बुँदे माग अघि सारेका हुन् ।
आधार कार्ड, दोहोरो नागरिकता र १९५० को सन्धि कार्यान्वयनको माग ज्ञापनपत्रमा भारतमा रहेका नेपालीहरूको मुख्य समस्या पहिचानको रहेको औँल्याउँदै ‘आधार कार्ड’ बनाउने प्रक्रिया सरल र सुलभ बनाउन माग गरिएको छ ।
बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, विद्यालय तथा अस्पताल भर्ना गर्न र दुर्घटना क्षतिपूर्ति एवं पेन्सन प्राप्त गर्न आधार कार्ड अनिवार्य गरिए पनि १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगाना जुटाउन नेपालीहरूलाई कठिन हुने गरेको उनीहरूको भनाइ छ ।
यस्तै, दैनिक आवश्यकताका लागि अन्जानमा कागजात बनाउँदा ‘दोहोरो नागरिकता’ को नाममा विभिन्न स्थानमा नेपालीहरू पक्राउ पर्ने र मुद्दा खेप्नुपर्ने अवस्था आएको भन्दै भारत सरकारसँग कूटनीतिक पहल गरी पीडितलाई न्याय दिलाउन र त्यस्ता कागजात निरस्त गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
सन् १९५० को सन्धिले दिएका सुविधा विपरीत भारतका शैक्षिक संस्था र अस्पतालहरूले नेपालीहरूलाई ‘विदेशी’ भन्दै अतिरिक्त शुल्क लिने गरेको, विद्यार्थीलाई रोजगारीमा भेदभाव गरिएको तथा ‘इलिजिबिलिटी सर्टिफिकेट’ (पात्रता प्रमाणपत्र) मागिने गरेको भन्दै कूटनीतिक पहलबाट स्थायी समाधान खोज्न आग्रह गरिएको छ । साथै, भारत यात्राका क्रममा बस, रेल र सीमा नाकामा हुने लुटपाट तथा प्रशासनिक दुर्व्यवहार रोक्न आवश्यक पहल गर्न माग गरिएको छ ।
प्रवासी नेपालीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याए पनि उनीहरू मताधिकारबाट वञ्चित रहेको भन्दै प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।
यसैगरी, नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै असंलग्न परराष्ट्र नीतिको पालना गर्न र कुनै दबाबमा परी राष्ट्रहित विपरीतका सन्धि९सम्झौता नगर्न सरकारलाई सचेत गराइएको छ । संविधान संशोधनको बहसमा गणतन्त्र राख्ने वा नराख्ने विषय उठाएर प्रतिगमन भित्र्याउने प्रयास भएको आरोप लगाउँदै सङ्गठनहरूले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणाली र मौलिक हकको रक्षा गर्न माग गरेका छन् । शिक्षक तथा कर्मचारीका पेसागत सङ्गठन, ट्रेड युनियन, स्ववियु खारेजी र पत्रकारमाथिको आक्रमणजस्ता जनविरोधी एवं अधिनायकत्ववादी कदम रोक्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।
सार्वजनिक गरिएको वक्तव्य तथा ज्ञापनपत्रमा प्रतिनिधिमण्डलका तर्फबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, नेपाली समाज भारतका सह–संयोजक आर.बि. खड्का, प्रवासी नेपाली सङ्घ भारतका सचिवालय सदस्य जीवन शर्मा भुसाल र नेपाली जनसम्पर्क समितिकी सदस्य नन्दी कुमारी न्यौपानेले हस्ताक्षर गरेका छन् ।

