नेपाली क्रिकेटलाई भारतको साथ, राष्ट्रिय प्रशिक्षण एकेडेमी स्थापनामा सघाउने

आप्रवासन आप्रवासन

भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न सहयोग गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा क्रिकेट पूर्वाधार विकास तथा खेलाडीको प्रशिक्षणका लागि भारतले सहयोग बढाउने प्रतिबद्धता जनाएका हुन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि सञ्चारमाध्यमलाई सम्बोधन गर्दै मोदीले विशेषगरी क्रिकेटसहित खेलकुद क्षेत्रको विकासमा नेपाललाई थप सहयोग गर्ने बताएका हुन्।

मोदीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको प्रशिक्षणलाई प्राथमिकता दिइने उल्लेख गरेका छन्। उनले नेपालमा क्रिकेटको विकासका लागि आवश्यक सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

यो सहमतिसँगै नेपालमा राष्ट्रियस्तरको क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्ने तथा क्रिकेट खेलाडीलाई व्यावसायिक प्रशिक्षणको अवसर उपलब्ध गराउने विषयले थप महत्त्व पाएको छ।

मोदीले गरेको घोषणाअनुसार सहयोग राष्ट्रिय क्रिकेट एकेडेमी स्थापनामा मात्र सीमित रहने छैन। नेपालमा राष्ट्रिय तथा प्रादेशिक तहमा क्रिकेट पूर्वाधार विकास गर्ने र नेपाली खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा अभ्यास तथा प्रशिक्षणको अवसर उपलब्ध गराउने विषय पनि समेटिएको छ।

त्यस्तै, ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलमा पनि प्रशिक्षण तथा क्षमता अभिवृद्धिका अवसर विस्तार गर्ने सम्भावना खोजिने उल्लेख छ। नेपालमा आधुनिक बहुखेल केन्द्र निर्माणमा समेत सहकार्य गर्ने प्रस्ताव गरिएको छ।

यसका साथै पर्वतीय खेलकुदको विकासका लागि संयुक्त पर्वतारोहण अभियान सञ्चालन गर्ने तथा नेपाल र भारतका खेलाडीलाई एकअर्काका क्रिकेट र फुटबल लिगमा सहभागी गराउने अवसर खोज्न दुवै देशका सम्बन्धित खेलकुद संस्थालाई प्रोत्साहित गरिने प्रस्ताव छ।

नेपालले भारतसँग क्रिकेट पूर्वाधार विकास र खेलाडी प्रशिक्षणमा सहयोगको विषय लामो समयदेखि उठाउँदै आएको थियो। विशेषगरी पोखरा र कैलालीको फाप्लामा अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला निर्माणका लागि भारतीय सहयोग जुटाउने विषय नेपालको प्राथमिकतामा रहँदै आएको छ। तर, रंगशाला निर्माणका विषयमा यसअघि ठोस द्विपक्षीय सम्झौता हुन सकेको थिएन।

खेलाडीको प्रशिक्षणका क्षेत्रमा भने नेपाल र भारतबीच केही सहकार्य हुँदै आएको छ। सन् २०२४ अगस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएको थियो। त्यसैगरी, सन् २०२५ मा तीन नेपाली युवा खेलाडीले भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने अवसर पाएका थिए।

अब राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना, प्रादेशिक क्रिकेट पूर्वाधार विकास र खेलाडीलाई नियमित रूपमा उच्चस्तरीय प्रशिक्षण उपलब्ध गराउने विषयमा भारतले जनाएको प्रतिबद्धता कार्यान्वयन भए नेपाली क्रिकेटको संस्थागत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतको सहयोगसम्बन्धी यो प्रतिबद्धता प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा सार्वजनिक गरिएको नेपाल–भारत सहकार्यको विस्तृत खाकामा समेटिएको छ। यसले क्रिकेटलाई दुई देशबीचको सहकार्यको एउटा महत्त्वपूर्ण क्षेत्रका रूपमा अघि सारेको छ।