कुवेत सिटी । कुवेतले निजी क्षेत्रका रोजगारदातालाई आफ्ना कामदारको तलब अनिवार्य रूपमा उनीहरूकै व्यक्तिगत बैंक खातामा जम्मा गर्न निर्देशन दिएको छ। कामदारको पारिश्रमिक तोकिएको प्रक्रियाअनुसार बैंक खातामा स्थानान्तरण नगर्ने रोजगारदातामाथि कानुनी तथा प्रशासनिक कारबाही गरिने कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (पीएएम) ले चेतावनी दिएको छ।
कुवेतको समाचार संस्था अरेब टाइम्सका अनुसार प्राधिकरणले रोजगारदाताहरूलाई सम्बोधन गर्दै कामदारको तलब उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा गर्नु कानुनी दायित्व भएको स्पष्ट पारेको छ। प्राधिकरणले यसलाई कामदारको श्रम अधिकारको सम्मान गर्ने र रोजगारदातालाई सम्भावित कारबाहीबाट जोगाउने महत्त्वपूर्ण प्रक्रिया पनि भनेको छ।
प्राधिकरणले जारी गरेको सूचनामा रोजगारदाताले कामदारको तलब उनीहरूकै व्यक्तिगत खातामा स्थानान्तरण गर्नुपर्ने उल्लेख छ। यस्तो व्यवस्था पालना नगर्ने रोजगारदातामाथि आवश्यक नियामक तथा कानुनी कदम चाल्ने अधिकार प्राधिकरणसँग रहेको जनाइएको छ।
विशेषगरी आफ्ना प्रतिष्ठानमा दर्ता भएका कामदारको पारिश्रमिक भुक्तानीसम्बन्धी नियम पालना नगर्ने कम्पनीमाथि निगरानी र कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार तलब बैंक खातामा जम्मा गर्ने व्यवस्था केवल कानुनी औपचारिकता मात्र नभई कामदारको आर्थिक अधिकार सुनिश्चित गर्ने माध्यम पनि हो। यसले कामदारले पाउनुपर्ने पारिश्रमिकको अभिलेख राख्न, तलब भुक्तानीमा पारदर्शिता कायम गर्न र रोजगारदाताबाट हुन सक्ने अनियमितता नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
कुवेतले पछिल्लो समय निजी क्षेत्रका कम्पनीमा कार्यरत विदेशी कामदारको तलब नियमित र पारदर्शी बनाउने उद्देश्यले अनुगमनलाई तीव्र बनाउँदै आएको छ। यसअघि पनि सार्वजनिक जनशक्ति प्राधिकरणले तलब भुक्तानीमा ढिलाइ गर्ने तथा श्रमिकलाई पारिश्रमिक नदिने कम्पनीमाथि कडा निगरानी गर्ने व्यवस्था अघि बढाएको थियो।
यसैक्रममा प्राधिकरणले केन्द्रीय बैंकको ज्याला संरक्षण प्रणाली (वेज प्रोटेक्सन सिस्टम) सँग विद्युतीय प्रणालीमार्फत समन्वय गर्ने व्यवस्था पनि अघि बढाएको छ। यसबाट रोजगारदाताले बैंकमार्फत पठाएको तलबसम्बन्धी विवरण र कम्पनीमा दर्ता भएका कामदारको विवरण मिलान गरी भुक्तानीको अवस्था अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ।
कुवेतमा ठूलो संख्यामा नेपाली श्रमिक निजी क्षेत्रमा कार्यरत रहेकाले यो व्यवस्था उनीहरूका लागि पनि महत्त्वपूर्ण छ। कामदारको तलब व्यक्तिगत बैंक खातामा जम्मा हुनुले पारिश्रमिक प्राप्त भएको प्रमाण सुरक्षित राख्न र तलबसम्बन्धी विवाद उत्पन्न भएमा आफ्नो दाबी पुष्टि गर्न सहज बनाउँछ।
त्यसैले कुवेतमा कार्यरत नेपालीसहित विदेशी कामदारले आफ्नो तलब नियमित रूपमा बैंक खातामा आएको छ वा छैन भन्ने विषयमा ध्यान दिनु आवश्यक छ। रोजगारदाताले तलब भुक्तानीसम्बन्धी नियम उल्लंघन गरेमा सम्बन्धित निकायमा उजुरी गर्न सक्ने व्यवस्था छ।
कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरणले रोजगारदातालाई श्रम कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै कामदारको तलब भुक्तानीसम्बन्धी अनियमितता सहन नगर्ने स्पष्ट सन्देश दिएको छ।