पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

आप्रवासन आप्रवासन

पोल्यान्डका विद्यालयमा चक्कु प्रहारका घटना दोहोरिएपछि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की दिने र चक्कु बोकेर विद्यालय पुग्ने कैयौँ किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबारसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ ।  पक्राउ पर्नेमा वार्साका १३ वर्षीय किशोर पनि छन्, जसले कक्षाको सामूहिक च्याटमा चक्कुको तस्बिर राख्दै अन्य विद्यार्थीलाई धम्की दिएका थिए । त्यस्तै, १४ वर्षीय अर्का किशोर विद्यालय परिसरमा चक्कु र पटाकासहित पक्राउ परेका थिए ।

पोल्यान्डमा दुई दिनमा भएका दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिहीबार वार्साको उत्तरपूर्वमा रहेको लेस्चिदोल–नोविनीस्थित प्राथमिक विद्यालयमा १५ वर्षीय पूर्वविद्यार्थीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । बुधबार ओस्त्रोलेन्काको अर्को विद्यालयमा १९ वर्षीय युवकको चक्कु आक्रमणबाट १० जना घाइते भएका थिए ।

यी घटनापछि देशभरका करिब १० हजार विद्यालयमा प्रहरी परिचालन गरिएको छ । सामाजिक सञ्जालमा ‘ब्लडी फ्राइडे’ नामक अनलाइन चुनौतीका कारण आक्रमण भएको चर्चा चले पनि प्रहरीले त्यस्तो कुनै संगठित चुनौतीको प्रमाण फेला नपरेको जनाएको छ ।

डिजिटल मामिलामन्त्री क्रिस्टोफ गाभकोव्स्कीले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाले थप आक्रमण निम्त्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।