१८० यात्रुको ज्यान जोगाउने फ्लाईदुबईका पाइलटलाई इजरायलको सर्वोच्च सम्मान

आप्रवासन आप्रवासन

काठमाडौं । उडिरहेको विमानमा भएको गम्भीर घटनाका क्रममा यात्रुहरूको ज्यान जोगाउन साहस र व्यावसायिक दक्षता देखाएका फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई इजरायलको सर्वोच्च नागरिक वीरता सम्मान प्रदान गरिने भएको छ।

गल्फ न्युजले ९ अक्टोबर २०२६ मा प्रकाशित गरेको समाचारअनुसार, इजरायलका राष्ट्रपति इसाक हर्जोगले क्याप्टेन मच्छरलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गर्ने घोषणा गरेका हुन्। गम्भीर घाइते भएर संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित अस्पतालमा उपचार गराइरहेका मच्छरको स्वास्थ्यमा सुधार आएपछि सम्मान प्रदान गरिनेछ।

गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको उडानमा ककपिटभित्र चालक दलका सदस्यबीच गम्भीर घटना भएको थियो। इजरायली अधिकारीहरूले उक्त घटनालाई विमान अपहरणको कथित प्रयासका रूपमा वर्णन गरेका छन्। घटनाका क्रममा मच्छर गम्भीर घाइते भएका थिए।

राष्ट्रपति हर्जोगले विमानमा भएको घटनालाई ठूलो दुर्घटनामा परिणत हुनबाट रोक्न मच्छरको साहस, बहादुरी र व्यावसायिक दक्षताले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले पाइलट पूर्ण रूपमा निको भएपछि सम्मान प्रदान गर्ने जनाएका छन्।

घटनाका क्रममा विमान अचानक तीव्र रूपमा तल झरेपछि आपत्कालीन सङ्केत पठाइएको थियो। त्यसपछि विमानलाई साउदी अरबको तबुकतर्फ मोडेर आपत्कालीन अवतरण गराइएको थियो। विमानमा सवार सबै १८० जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको गल्फ न्युजले जनाएको छ।

यस घटनामा मच्छरलाई सहयोग गर्ने छ जना इजरायली यात्रुलाई पनि राष्ट्रपति हर्जोगले नागरिक वीरता सम्मान प्रदान गरेका छन्। सम्मान पाउनेमा ताली मानेस, ज्विका मानेस, यानिभ हायुन, चिकित्सक डा. शोता मुसायेभ, असाफ राजुआन र ओर पार्डिलोभ रहेका छन्। उनीहरूले घटनाका क्रममा देखाएको साहस र हस्तक्षेपले सम्भावित ठूलो दुर्घटना रोक्न सहयोग गरेको बताइएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पनि मच्छरको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। यूएईस्थित भारतीय दूतावासले उनको परिवार, चिकित्सक तथा स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक सहयोग गरिरहेको जनाएको छ।

गम्भीर अवस्थामा उपचाररत मच्छरलाई सम्मान प्रदान गर्ने घोषणा विमानमा भएको संकटका क्रममा उनले देखाएको साहसको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ। उनको स्वास्थ्यमा थप सुधार आएपछि सम्मान प्रदान गर्ने कार्यक्रम तय गरिनेछ।