मेक्सिकोको उत्तरपश्चिमी राज्य सिनालोआस्थित एक जेलमा कैदीहरूबीच झडप हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा नौ कैदी र जेलमा भेटघाटका लागि आएका एक बालक रहेका छन्। अलजजिराका अनुसार, सिनालोआ राज्यको मजाटलान सहरस्थित एल कास्टिलो कारागारमा बिहीबार झडप भएको हो। राज्यको सार्वजनिक सुरक्षा सचिवालयले घटनाबारे जानकारी दिँदै घाइते १६ कैदीलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ।
सिनालोआका सार्वजनिक सुरक्षा सचिव सिनुहे टेलेजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा मृत्यु हुने आगन्तुक नाबालक रहेको बताएका छन्। घटनापछि विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकारीहरूका अनुसार अहिले जेलको अवस्था नियन्त्रणमा आएको छ र सुरक्षाकर्मी घटनास्थलमै तैनाथ छन्।
मृतकका परिवारलाई घटनाबारे जानकारी दिन सामाजिक कार्यकर्ताहरू परिचालन गरिएको टेलेजले बताएका छन्। तत्काललाई जेलमा कैदी भेट्न आउने आगन्तुकमाथि रोक लगाइएको छ। जेलभित्र रहेका अन्य कैदी सुरक्षित रहेको पनि अधिकारीहरूले जनाएका छन्।
सिनालोआ मेक्सिकोका शक्तिशाली लागुऔषध तस्करी गिरोहहरूको द्वन्द्वका कारण सुरक्षा चुनौती झेलिरहेको राज्य हो। यहाँ सिनालोआ लागुऔषध कार्टेलका प्रतिस्पर्धी समूहहरूबीच संघर्ष हुँदै आएको छ।
अमेरिकी विदेश मन्त्रालयले सुरक्षा जोखिमका कारण आफ्ना नागरिकलाई भ्रमण नगर्न सुझाव दिएका मेक्सिकोका छ राज्यमा सिनालोआ पनि पर्छ।
यद्यपि, एल कास्टिलो जेलमा भएको पछिल्लो हिंसा लागुऔषध गिरोहबीचको द्वन्द्वसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे अधिकारीहरूले केही बताएका छैनन्। झडपको कारण र घटनामा संलग्न व्यक्तिहरूबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।