अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्क बिच ट्रम्प राष्ट्रपति चुनिनुअघि बाटै सुमधुर सम्बन्ध थियो । चुनावमा उठेका ट्रम्पलाई मस्कले इन्डोर्स मात्र गरेनन् उनलाई जिताउन अर्बौँ रकम खर्च समेत गरे । राष्ट्रपति चुनिएपछि ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको प्रमुख बनाएर उनको गुन तिरे ।
त्यसपछि लगभग सबैजसो कार्यक्रम र भेटघाटहरूमा उनीहरूसँगै हुन्थे । यहाँसम्म कि, मन्त्रिपरिषद्को बैठकसम्मै मस्कको पहुँच थियो । ट्रम्पको साउदी, कतार र युएई भ्रमणमा समेत मस्क छुटेनन् । एक अर्काको प्रशंसामा दुवैले प्रशस्त समय खर्चिर्ने गर्थे ।
तर यी दुई बिचको सम्बन्धमा अहिले नाटकीय परिवर्तन आएको छ र सम्बन्ध घृणा भावमा बदलिएको छ । जसको कारण बनेको छ, ट्रम्पले ल्याएको ट्याक्स र खर्च विधेयक ।
गत साता ट्रम्प प्रशासनबाट अलग भएपछि मस्कले ट्रम्पको ट्याक्स र खर्च विधेयकको कडा आलोचना गरेका छन् । मस्कले सो विधेयकलाई ‘घिनलाग्दो’ संज्ञा दिएका छन् ।
सो विधेयक मे महिनामा अमेरिकी संसद्को तल्लो सदनबाट पारित भइसकेको छ। यसमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् ।
मस्कले सो विधेयकका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने समेत भन्न भ्याएका छन् ।
मस्कबाट अनपेक्षित आलोचना सुनेपछि दुई बिचको सम्बन्धमा दरार आएको छ ।
अहिले दुवै जना आरोप प्रत्यारोप र धम्कीपूर्ण भाषामा बोल्न थालेका छन् । ट्रम्पले मस्कको प्रतिक्रियाबाट आफू अत्यन्त निराश र चकित बनेको बताएका छन्। सरकारले मस्कको कम्पनीहरूलाई दिँदै आएको कनट्र्याक्ट र सहुलियत कटौती गर्ने चेतावनी मस्कले दिएका छन् ।
उता मस्कले पनि अब अमेरिकामा ८० प्रतिशत मध्यम वर्गको प्रतिनिधित्व गर्ने गरी नयाँ राजनीतिक दलको गठनको आवश्यकता रहेको बताउन थालेका छन् । सामाजिक सञ्जालमा यी दुई बिचको जुहारी अझै जारी छ ।
यस्तोमा संसारको सबैभन्दा शक्तिशाली राष्ट्रपति र सबैभन्दा धनी बिचको यो लडाइँले कुन रूप लिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।