भोटेकोशी बाढी प्रभावित नेपालीलाई दक्षिण कोरियाबाट नेपाल फर्किन दूतावासको समन्वय

संगम पहरी संगम पहरी

सियोल । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल फर्किनुपर्ने अवस्थामा रहेका दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई नेपाली राजदूतावास सियोलले आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ।

दूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीबाट प्रत्यक्ष प्रभावित भएका र तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका दक्षिण कोरियामा कार्यरत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

दूतावासका अनुसार बाढीका कारण परिवार प्रभावित भएर तत्काल नेपाल फर्किनुपर्ने अवस्था आए पनि सम्बन्धित कम्पनीबाट बिदा वा नेपाल फर्किने अनुमति पाउन समस्या भएमा दूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ। त्यसका लागि प्रभावित श्रमिकले आफ्नो व्यक्तिगत तथा रोजगारीसम्बन्धी विवरण दूतावासमा उपलब्ध गराउनुपर्नेछ।

दूतावासले सम्बन्धित श्रमिकबाट पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर र एआरसी नम्बर मागेको छ। साथै, आफू कार्यरत कम्पनीका म्यानेजरको सम्पर्क नम्बर तथा इमेल ठेगाना पनि उपलब्ध गराउन भनिएको छ।

दूतावासले विशेषगरी भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित परिवार भएका श्रमिकको अवस्था पहिचान गरी आवश्यक सहयोग र समन्वय गर्न यो सूचना जारी गरेको जनाएको छ। कम्पनीबाट बिदा वा नेपाल फर्किने अनुमति लिन कठिनाइ भएका श्रमिकले दूतावाससँग सम्पर्क गरेमा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गर्न सकिने सूचनामा उल्लेख छ।

यसका लागि दूतावासले श्रम काउन्सेलर र कानुनी सल्लाहकारको सम्पर्क व्यवस्था पनि सार्वजनिक गरेको छ। श्रमसम्बन्धी विषयमा WhatsApp मार्फत समेत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

भोटेकोशी बाढीका कारण परिवारमा गम्भीर समस्या परेको र तत्काल नेपाल आउनुपर्ने अवस्था भएका दक्षिण कोरियामा कार्यरत नेपालीले ढिला नगरी आफ्नो विवरण दूतावासमा उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपाली राजदूतावास, सियोलले २०८३ भदौ १० गते अर्थात् बुधबार जारी गरेको सूचनामा यस्तो आग्रह गरेको हो।

PP