भारतको हैदरावादमा लिभिङ टुगेदरमा बसेकी एक नेपाली महिलाको हत्या आरोपमा अर्का एक नेपाली पक्राउ परेका छन्। हैदरावाद प्रहरीले महिलाको हत्यामा संलग्न रहेको आरोप लिभिङ टुगेदरमा बस्दै आएका उनका प्रेमी विजय तोप्पालाई पक्राउ गरेको हो।
हत्या गरिएकी नेपाली महिलाको नाम तारा बोहरा रहेको भारतीय प्रहरीले जनाएको छ । हैदरावादको बचुपल्लीस्थित आवासीय क्षेत्रमा उनको शव एक लगेज ब्यागमामा फेला परेको थियो।
प्रहरीको अनुसन्धानले विजय र ताराको चिनजान फेसबुकमार्फत भएको र पछि उनीहरू लिभिङ टुगेदरको रूपमा बस्न थालेको खुलेको थियो । त्यस क्रममा तारा गर्भवती बनेको बताइएको छ । गत मे २३ मा उनीहरू दुई जनाबिच तारा गर्भवती भएको विषयलाई विवाद सुरु भएको र विवाद झगडा हत्यासम्म पुगेको प्रहरीले जनाएको छ।
सोधपुछको क्रममा विजयले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ।