मोदीलाई जी–७ मा बोलाइएको भन्दै क्यानडामा विरोध

आप्रवासन आप्रवासन

क्यानडामा हुन लागेको जी–सेभेन सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउने निर्णयको क्यानडामा विरोध भएको छ ।

क्यानडाको न्यु डेमोक्रेटिक पार्टी, विश्व सिख सङ्गठन लगायतले मोदीलाई निम्ता गरेकोमा प्रधानमन्त्री मार्क कार्नीको विरोध गरेका हुन् । सन् २०२३ मा क्यानडामा भारतीय मूलका एक सिख क्यानेडियन नागरिकको हत्या भएको थियो ।

छानबिनपछि क्यानडाको प्रहरीले हत्यामा भारतीय सरकारी एजेन्टहरूको संलग्नता रहेको ठहर गरेको थियो । त्यस लगत्तै दुई देशबिचको सम्बन्ध बिग्रिएको थियो र दुवैले एक अर्काका कूटनीतिज्ञहरूलाई निकाला गरेका थिए ।

यस घटनालाई दृष्टान्त दिँदै गत महिना सिख सङ्गठनले जी–सेभेनमा मोदीलाई नबोलाउन अनुरोध गर्दै प्रधानमन्त्री कर्नीलाई पत्र लेखेको थियो । क्यानडाले पनि मोदीलाई नबोलाइने जनाएको थियो ।

तर शुक्रबार प्रधानमन्त्री कार्नीले मोदीलाई सम्मेलनमा निम्ता दिइएको बताएपछि क्यानडामा आक्रोश बढेको हो ।

विरोध बढ्दै गएपछि कार्नीले आफ्नो निर्णयको बचाउ नै गर्नुपरेको छ । कार्नीले भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताएका छन् ।

उता, मोदीले पनि निम्तो स्वीकार गरेका छन् र सम्मेलनमा सहभागी हुने बताइसकेका छन् । जी–सेभेन सम्मेलन आगामी जुन १५ देखि १७ तारिखसम्म आयोजना हुँदै छ ।