अन-अराइभल भिसा

यी देश जसलाई नेपालले दिँदैन अन अराइभल भिसा

आप्रवासन आप्रवासन

कुनै पनि देशले आफ्नो मुलुकमा विदेशी नागरिकहरूलाई प्रवेश गर्नका लागि दिने अनुमति वा प्रवेशाज्ञा हो, भिसा । भिसामा कहिलेसम्म उक्त मुलुकमा जान पाउने‚ कति पटक जान पाउने‚ कति समय बस्न पाउने जस्ता प्रावधान उल्लेख गरिएको हुन्छ । सम्बन्धित निकायबाट भिसा जारी भएपछि मात्र विदेशीले सो देश प्रवेश गर्न पाउँछन् ।

तर देशहरू वा उनीहरूको सङ्गठन बिच समझदारी भएको छ भने एक देशबाट अर्को देश जान भिसा नै नलाग्ने सुविधा समेत दिइएको हुन्छ । जसको उदाहरण हो, नेपाली र भारतीयलाई एक अर्काको देश प्रवेश गर्न भिसा नलाग्ने सुविधा ।

यसबाहेक, भिसा सम्बन्धी अर्को एउटा व्यवस्था पनि छ, जसमा कुनै देश जान अग्रिम रूपमा भिसा लिइरहन पर्दैन । उक्त देश पुगेपछि भिसा आवेदन दिए पुग्छ । त्यस्तो प्रकृतिको भिसा सुविधालाई अन अराइभल भिसा भनिन्छ ।

यस भिडियोमा हामीले अन अराइभल भिसा के हो र नेपालले कुन कुन देशलाई अन अराइभल भिसा दिँदैन भन्ने जानकारी समेटेका छौँ ।

पर्यटकका रूपमा नेपाल भित्रने विश्वका धेरै देशका नागरिकले त्रिभुवन वा अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि अन अराइभल पाउने प्रावधान छ । यस्तै मैदानबाट नेपाल प्रवेश गर्ने विदेशीको हकमा उनीहरूले नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान छ ।

अध्यागमन विभाग अन्तर्गत देशभर ९ वटा अध्यागमन कार्यालयहरू छन् । जहाँ आगमन पश्चात् भिसा प्राप्त गर्न सकिने व्यवस्था छ। प्रवेश बिन्दुबाट जारी गरिने सबै भिसा पर्यटक भिसा हुन्।

नेपालले १२ वटा देशबाहेक सबै देशका नागरिकलाई अन अराइभल भिसाको सुविधा दिएको छ । अध्यागमन विभागका अनुसार नाइजेरिया, घाना, सिरिया, जिम्बाब्वे, स्वाजिल्यान्ड र क्यामरुनका नागरिकले अन अराइभल भिसा पाउँदैनन् । यीबाहेक सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र अफगानिस्तानका नागरिकलाई पनि अन अराइभल भिसा छैन ।

अध्यागमन ऐन, २०४९ ले आंतककारी गतिविधिमा सहभागी हुने देशका नागरिकको ‘अन अराइभल’ भिसा रोक्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार अध्यागमन विभागले १२ देशका नागरिक ‘अन अराइभल’ भिसामा प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध परेका ती देशका नागरिकले नेपाल आउन चाहेमा आफूलाई पायक पर्ने विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगबाट अग्रिम अन अराइभल भिसाका लागि अनुमति लिएर मात्र नेपाल आउन पाउँछन्।