अमेरिकामा प्रदर्शन

सेना परिचालनपछि पनि रोकिएन अमेरिकामा प्रदर्शन

आप्रवासन आप्रवासन

अमेरिकाको लस एन्जलसमा शुक्रबारदेखि सुरु भएको प्रदर्शन अझै जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो क्षेत्रमा २ हजार सेना तैनाथ गरे पनि प्रदर्शन नरोकिएको हो ।

प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग अवरुद्ध गरेका छन् । यस्तै, कैयौँ सवारीसाधनमा आगजनी र भवनहरू तोडफोड गरिएको छ ।

सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका छन् । सो क्रममा एक ब्रिटिस फोटोग्राफर र अस्ट्रेलियाकी पत्रकारलाई समेत गोली लागेको छ । हालसम्म दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् र कैयौँ पक्राउ परेका छन् ।

लस एन्जलसको प्यारामाउण्ट जिल्लामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट, आईसले गत हप्ताबाटै छापा मारिरहेको छ । जस क्रममा शुक्रबार ४४ जना गरी हालसम्म ११८ आप्रवासीलाई पक्राउ गरिएको छ । तर शुक्रबार आप्रवासी पक्राउ गर्न पुगेका अध्यागमन प्रहरीमाथि स्थानीयले घेरा हालेपछि स्थिति तनावपूर्ण बनेको हो । आईसले निर्दयी व्यवहार गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।