जलवायु परिवर्तनले पृथ्वीको तापक्रम मात्र बढाइरहेको छैन, हवाई यात्राका लागि आवश्यक आकाश र विमानस्थलको सञ्चालनलाई समेत थप चुनौतीपूर्ण बनाउँदै लगेको छ ।
बढ्दो तापक्रम, शक्तिशाली गर्जनसहितका आँधी, अत्यधिक वर्षा, टर्बुलेन्स र समुद्री सतह वृद्धिले विश्वको उड्डयन उद्योगमा जोखिम पनि निम्त्याइरहेका छन् । यसको प्रत्यक्ष असर यात्रुको यात्रा समय, टिकटको मूल्य र विमानस्थलको पूर्वाधारमा समेत पर्न सक्ने देखिएको छ ।
जुन महिनाको अन्त्यतिर बेलायतमा अत्यधिक गर्मी भइरहेका बेला दक्षिणी इङ्ल्यान्ड तथा उत्तरी युरोपको ठुलो भूभागमाथि गर्जनसहितका विशाल बादल विकसित भए । बिदाको मौसम सुरु भएसँगै हजारौँ यात्रु लन्डनका हिथ्रो र ग्याटविक विमानस्थल हुँदै विदेश जाने तयारीमा थिए । तर, आँधीका कारण हवाई यातायात व्यवस्थापन प्रभावित हुँदा ठुलो अवरोध उत्पन्न भयो ।
हवाई ट्राफिक नियन्त्रकहरूले आँधीबाट विमानलाई सुरक्षित दूरीमा राख्दै मार्ग व्यवस्थापन गर्नुपरेपछि दुवै विमानस्थलबाट आउने–जाने करिब ९०० उडान ढिला भए । केही उडान ११ घण्टासम्म ढिला भए भने दर्जनौँ उडान रद्द गरिए । युरोपका अन्य विमानस्थलबाट लन्डनतर्फ आएका यात्रुले समेत लामो प्रतीक्षा र अनिश्चितताको सामना गर्नुपर्यो ।
एक दिनको यस्तो घटना मौसमको सामान्य उतारचढाव पनि हुन सक्छ । तर जलवायु परिवर्तनसँगै चरम मौसमका घटना बढ्दै जाँदा यस्ता अवरोध भविष्यमा अझ बढ्न सक्ने चिन्ता उड्डयन क्षेत्रका विज्ञहरूको छ ।
एयरलाइन्स जोखिमसम्बन्धी परामर्शदाता तथा पूर्वपाइलट टिम एट्किन्सनका अनुसार बेलायत र उत्तरी युरोपमाथिको आकाश विश्वकै व्यस्त हवाई क्षेत्रमध्ये पर्छ । त्यसैले यहाँ उत्पन्न हुने मौसमजन्य अवरोधको प्रभाव निकै ठुलो हुन सक्छ ।
उनका अनुसार लन्डन वरपरका हिथ्रो, ग्याटविक, लुटन र स्टान्स्टेडजस्ता विमानस्थल एकै पटक आँधीबाट प्रभावित भएमा समस्या विमानस्थलमा मात्र सीमित रहने छैन । ती विमानस्थलतर्फ आउँदै गरेका विमानलाई वैकल्पिक गन्तव्य खोज्नुपर्ने हुन्छ, जसले पहिले नै व्यस्त रहेका अन्य विमानस्थलमाथि थप दबाब सिर्जना गर्न सक्छ ।
आँधीका कारण कुनै विमानले निर्धारित विमानस्थलमा अवतरण गर्न नसके त्यसलाई अर्को विमानस्थलतर्फ मोड्नुपर्छ । तर वैकल्पिक विमानस्थलमा पर्याप्त पार्किङ स्थान, इन्धन, यात्रु सेवा र अन्य पूर्वाधार नहुँदा समस्या थप जटिल बन्न सक्छ ।
अझ लामो दूरीबाट आएका विमानको इन्धन सीमित हुँदै गएको अवस्थामा चालक दलले सुरक्षित अवतरणका लागि तत्कालै निर्णय लिनुपर्ने हुन्छ ।
यद्यपि, सबै विज्ञ यस्तो चरम जोखिमलाई समान रूपमा हेर्दैनन् । स्विट्जरल्यान्डस्थित एभिएसन एड्भोकेसी परामर्श संस्थाका प्रमुख तथा पूर्व एयरलाइन्स कार्यकारी एन्ड्र्यु चार्लटनका अनुसार सबैभन्दा खराब सम्भावनालाई ध्यानमा राखेर तयारी गर्नुपर्छ अनि त्यसलाई वास्तविक जोखिमसँग तुलना गरेर पनि हेर्ने पर्छ ।
उनका अनुसार उड्डयन उद्योगले कठिन मौसममा पनि सुरक्षा प्राथमिकतामा राखेर निर्णय गर्ने क्षमता विकास गरिसकेको छ ।
गर्जनसहितको आँधीलाई सामान्यतः ‘कन्भेक्टिभ एक्टिभिटी’सँग जोडिन्छ । जमिन नजिकको तातो र आद्र हावा तीव्र गतिमा माथि उठ्दा वायुमण्डलमा ठुलो बादल विकास हुन्छ । तापक्रम बढेसँगै वायुमण्डलले बढी जलवाष्प धारण गर्न सक्छ ।
प्रत्येक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले वायुमण्डलले करिब ७ प्रतिशत बढी आर्द्रता धारण गर्न सक्ने वैज्ञानिक आधार छ ।
यसले भारी वर्षा र शक्तिशाली वर्षाजन्य घटनाको सम्भावना बढाउन सक्छ । यद्यपि जलवायु परिवर्तनका कारण बेलायत वा युरोपमा आँधीको कुल सङ्ख्या अनिवार्य रूपमा बढ्छ भन्ने निष्कर्ष छैन । आँधी निर्माणमा तापक्रम र आद्रताबाहेक हावाको दिशा, वायुमण्डलीय संरचना र अन्य मौसमी प्रणालीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
तर केही अध्ययनले उत्तरी गोलार्द्धका उच्च अक्षांशमा शक्तिशाली आँधीका लागि अनुकूल वातावरण बढ्न सक्ने संकेत गरेका छन् । बेलायतको मौसम विभागका अनुसार आँधीको कुल सङ्ख्या धेरै नबढे पनि भविष्यमा आउने केही आँधीको प्रभाव भने बढी गम्भीर हुन सक्छ ।
पाइलटहरूले सम्भव भएसम्म शक्तिशाली आँधी भएका क्षेत्रबाट विमानलाई टाढा राख्छन् । आधुनिक विमान तीव्र मौसमको सामना गर्न सक्ने गरी निर्माण गरिए पनि गर्जनसहितका आँधीमा अत्यधिक टर्बुलेन्स, असिनापानी र तीव्र हावाको जोखिम हुन्छ ।
टर्बुलेन्सले विमानलाई अचानक हल्लाउन सक्छ । सिट बेल्ट नलगाएका यात्रु वा चालक दलका सदस्य क्याबिनभित्र उछिट्टिन सक्छन् । असिनाले विमानको अगाडिको सिसा वा अन्य संरचनामा क्षति पुर्याउन सक्छ र चरम अवस्थामा इन्जिनमा समेत समस्या ल्याउन सक्छ ।
त्यसैले मौसम खराब हुँदा उडान ढिला हुनु वा मार्ग परिवर्तन हुनु यात्रुको असुविधा भए पनि यसको प्राथमिक उद्देश्य सुरक्षा सुनिश्चित गर्नु हो ।
आधुनिक विमानमा जडित मौसम राडारले चालक दललाई अगाडिको ठुलो क्षेत्रमा विकसित भइरहेको मौसमबारे जानकारी दिन्छ । अनलाइन तथा भू–आधारित मौसम प्रणालीबाट प्राप्त वास्तविक समयका सूचनाले पनि निर्णयमा सहयोग गर्छन् । तर मौसम तीव्र गतिमा परिवर्तन हुने भएकाले लामो दूरीको उडानमा सबै सम्भावित अवस्था पहिल्यै अनुमान गर्न अझै कठिन छ ।
मार्ग परिवर्तन गर्दा थप इन्धन खपत हुन्छ । चरम मौसमका कारण यस्तो अवस्था बारम्बार दोहोरिए एयरलाइन्सले अतिरिक्त इन्धन बोक्नुपर्ने हुन सक्छ । त्यसको लागत अन्ततः टिकटको मूल्यमा समेत जोडिन सक्छ ।
शक्तिशाली आँधीको असर आकाशमा मात्र सीमित हुँदैन । अत्यधिक वर्षाले विमानस्थलका धावनमार्ग, ट्याक्सीवे, पार्किङ क्षेत्र तथा विमानस्थलसम्म पुग्ने सडक र रेलमार्गसमेत डुबानमा पार्न सक्छ ।
अप्रिल २०२४ मा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा परेको अत्यधिक वर्षा यसको उदाहरण हो । भारी वर्षापछि विमानस्थलको सञ्चालन गम्भीर रूपमा प्रभावित भयो र अवरोध दुई दिनसम्म कायम रह्यो । १,२०० भन्दा बढी उडान रद्द हुँदा हजारौँ यात्रु प्रभावित भए ।
यसबाट के स्पष्ट हुन्छ भने विमानस्थलको धावनमार्ग सुरक्षित भए पनि यात्रु विमानस्थलसम्म पुग्न नसके उड्डयन सेवा सामान्य रूपमा सञ्चालन हुन सक्दैन । यस्ता जोखिम कम गर्न विमानस्थलहरूले बाढी नियन्त्रण संरचना, पानी निकास प्रणाली र पूर्वाधार सुधारमा ठुलो लगानी गर्नुपर्ने हुन्छ । सन् २०१३ को क्रिसमसमा गम्भीर बाढीको सामना गरेको ग्याटविक विमानस्थलले पनि त्यसयता बाढीको जोखिम न्यूनीकरणमा ठुलो लगानी गरेको छ ।
जलवायु परिवर्तनसँग जोडिएको अर्को महत्त्वपूर्ण जोखिम ‘क्लियर–एयर टर्बुलेन्स’ हो । बादल वा अन्य भिजिविलिटी समस्या बिना पनि उच्च उचाइमा हावाको प्रवाह अस्थिर हुँदा यस्तो टर्बुलेन्स उत्पन्न हुन्छ ।
सामान्य अवस्थामा केही समयको हल्लाजस्तो मात्र देखिए पनि शक्तिशाली टर्बुलेन्सले यात्रु तथा चालक दलका सदस्यलाई घाइते बनाउन सक्छ ।
सन् २०२३ मा अमेरिकाको अस्टिनबाट जर्मनीको फ्राङ्कफर्टतर्फ जाँदै गरेको लुफ्थान्सा विमानले शक्तिशाली टर्बुलेन्स सामना गर्दा केही यात्रु र चालक दलका सदस्य घाइते भएका थिए ।
रिडिङ विश्वविद्यालयका वायुमण्डलीय विज्ञानका प्राध्यापक पल विलियम्सका अनुसार विश्वका व्यस्त उडान मार्गमा गम्भीर टर्बुलेन्सको मात्रा भविष्यमा उल्लेख्य रूपमा बढ्न सक्छ । उत्तरी एटलान्टिक क्षेत्रमा सन् १९७९ यता यस्ता घटनामा ५५ प्रतिशत वृद्धि भएको उनको अध्ययनले देखाएको छ ।
यद्यपि मौसम पूर्वानुमानमा सुधार, नयाँ सेन्सर प्रणाली र सम्भावित रूपमा लेजर प्रविधिको प्रयोगले यसको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्नु पनि तटीय विमानस्थलका लागि दीर्घकालीन जोखिम हो । सन् २०१२ मा अमेरिकाको पूर्वी तटमा आएको हरिकेन स्यान्डीका कारण न्यूयोर्कको लागार्डिया विमानस्थलका धावनमार्गहरू केही दिनसम्म पानीमुनि रहे ।
विश्वका धेरै ठूला विमानस्थल समुद्रनजिकका होचा भूभागमा निर्माण गरिएका छन् । एम्स्टर्डम सिफोल, लन्डन सिटी, बहराइन इन्टरनेसनल र नेवार्क लिबर्टीजस्ता विमानस्थललाई दीर्घकालीन रूपमा समुद्री सतह वृद्धि र तटीय बाढीको जोखिमले प्रभावित गर्न सक्छ ।
न्युक्यासल विश्वविद्यालयको अनुसन्धानले विश्वका सयौँ विमानस्थललाई समुद्री सतह वृद्धिका कारण बाढीको जोखिम रहेको देखाएको छ । विमानस्थललाई सुरक्षित राख्न धावनमार्ग उचाल्ने, बाढी नियन्त्रण संरचना निर्माण गर्ने वा अत्यन्त जोखिममा रहेका पूर्वाधारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । यस्ता उपायमा अर्बौँ डलर खर्च हुन सक्ने अनुमान छ ।
उड्डयन उद्योगका लागि चुनौती दोहोरो छ । एकातिर जलवायु परिवर्तनले उडान सञ्चालनलाई कठिन बनाउँदै छ भने अर्कोतर्फ हवाई यात्रा आफैँ कार्बन उत्सर्जनको महत्त्वपूर्ण स्रोत भएकाले उद्योगमाथि उत्सर्जन घटाउने दबाब छ ।
सन् २०५० सम्म शुद्ध कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य पूरा गर्नुपर्ने अवस्थामा आगामी दशकहरूमा हवाई यात्राको माग र विमानको सङ्ख्या बढ्ने अपेक्षाले चुनौती थप्नेछ । यसको अर्थ भविष्यका यात्रुले हरेक उडानमा ठुलो समस्या भोग्नुपर्छ भन्ने होइन । आधुनिक विमान, मौसम पूर्वानुमान, हवाई ट्राफिक व्यवस्थापन र विमानस्थल पूर्वाधारमा भइरहेको सुधारले जोखिम घटाउन सक्छ । तर जलवायु परिवर्तनले चरम मौसमका घटना थप अनिश्चित र शक्तिशाली बनाउँदै गएमा उडान ढिलाइ, मार्ग परिवर्तन, उडान रद्द र थप लागतलाई हवाई यात्राको नयाँ सामान्य अवस्थाका रूपमा स्वीकार गर्नुपर्ने सम्भावना बढ्दै गएको छ ।
त्यसैले भविष्यको उड्डयन क्षेत्रका लागि चुनौती केवल बढी विमान उडाउनु पर्ने अवस्थामा मात्र सीमित छैन । बढ्दो तापक्रम, अस्थिर मौसम, बाढी र टर्बुलेन्सबिच सुरक्षित, भरपर्दो र किफायती हवाई सेवा कायम राख्नुमा पनि ठुलो चुनौती छ ।