जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तास्थित देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ उडान रोकिएका छन् । अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानी हवाई क्षेत्रमा फैलिएपछि सोएकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका हुन् ।
इन्डोनेसियाली अधिकारीहरूका अनुसार आइतबार बिहान जकार्ता नजिकैको हवाई क्षेत्रमा ज्वालामुखीय खरानी देखिएपछि कम्तीमा २०९ वटा उडान स्थगित गरिएको छ । उडान रोकिएपछि २२ हजारभन्दा बढी यात्रु अलपत्र परेको बताइएको छ । उडान सञ्चालनमा लगाइएको रोकलाई स्थानीय समयअनुसार दिउँसो १३ः ३० बजेसम्म लम्ब्याइएको थियो । यस अवधिमा विमानस्थलमा ठुलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार उडान स्थगनको मुख्य असर सिंगापुर जाने र सिंगापुरबाट इन्डोनेसिया आउने उडानमा परेको छ । यसका साथै दोहा, सिड्नी र क्वालालम्पुर लगायत अन्तर्राष्ट्रिय गन्तव्यका उडानसमेत प्रभावित भएका छन् ।
ज्वालामुखीबाट निस्कोको खरानी विमान उड्ने हवाई क्षेत्रमा फैलिँदा विमानको इन्जिन तथा अन्य महत्त्वपूर्ण प्रणालीमा जोखिम उत्पन्न हुनसक्ने भएकाले सुरक्षाका कारण उडान रोकिएको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा उडान रोकिएपछि यात्रुहरू लामो समयसम्म प्रतीक्षामा बस्नुपरेको छ ।
सार्वजनिक तस्बिरहरूमा यात्रुहरू विमानस्थल भित्र बेन्चमा बसेर उडान पुनः सञ्चालन हुने प्रतीक्षा गरिरहेको देखिन्छ । अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति विस्फोट हुन थालेको थियो । त्यसपछि यस क्षेत्रमा लगातार भूकम्पीय गतिविधि, लाभाका फोहोरा तथा ठुलो आवाज सुनिएको स्थानीय अधिकारीहरूले बताएका छन् । आइतबार बिहान पनि ज्वालामुखीबाट थप दुईपटक विस्फोट भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
ज्वालामुखीबाट निस्किएको खरानी र अन्य पदार्थ हावामा फैलिँदा आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । अनाक क्राकाटाउ जाभा र सुमात्रा द्वीपबिच रहेको सुन्डा स्ट्रेटमा अवस्थित छ । यसको नामको अर्थ क्राकाटाउको बच्चा हो । हालको ज्वालामुखी गतिविधिसँग सम्बन्धित कुनै सुनामी चेतावनी भने जारी नगरिएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।
ज्वालामुखीबाट निस्किएको खरानीका कारण स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यमन्त्रीले स्थानीय बासिन्दालाई सकेसम्म घरभित्रै बस्न र मास्क प्रयोग गर्न आग्रह गरेका छन् ।
ज्वालामुखीय खरानीका कारण श्वासप्रश्वास, आँखा तथा छालामा समस्या आउन सक्ने भएकाले सुरक्षा उपाय अपनाउन भनिएको हो । स्थानीय सञ्चारमाध्यम कोम्पासका अनुसार शनिबार केही विद्यालयले आफ्ना गतिविधि र कार्यक्रम रद्द गरेका थिए । विद्यार्थी तथा स्थानीय बासिन्दाले ज्वालामुखीय खरानीका कारण आँखामा जलन भएको गुनासो गरेपछि विद्यालयका गतिविधि रोकिएका हुन् ।
अनाक क्राकाटाउ इन्डोनेसियाका लागि नयाँ जोखिम भने होइन । गत शताब्दीको सुरुवातमा समुद्रबाट बाहिर निस्किएदेखि यो ज्वालामुखी बेलाबेलामा सक्रिय हुँदै आएको छ । यो सन् १८८३ मा भएको विनाशकारी क्राकाटाउ ज्वालामुखी विस्फोटपछि बनेको विशाल ज्वालामुखीय संरचनाभित्र विकसित भएको हो ।
सन् २०१८ को डिसेम्बरमा अनाक क्राकाटाउको ठुलो हिस्सा भत्किएपछि समुद्रमा विशाल सुनामी आएको थियो । उक्त सुनामीले जाभा र सुमात्राका तटीय क्षेत्रमा ठुलो विनाश मच्चाएको थियो ।
त्यस घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौँ मानिस घाइते तथा विस्थापित भएका थिए । वैज्ञानिकहरूले पछि गरेको अध्ययनमा ज्वालामुखी भत्किँदा समुद्रमा खसेका केही चट्टानका टुक्रा ७० देखि ९० मिटर अग्ला रहेको पत्ता लागेको थियो ।