इजरायलले इरानमाथि भीषण आक्रमण गरेको छ। इजरायलले शुक्रबार बिहान इरानको आणविक भट्टी र लामो दुरीका मिसाइल कारखानालाई लक्षित गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
आक्रमणमा परी हालसम्म २ जना इरानी अधिकारीको मृत्यु भएको छ । इरानको राजधानी तेहरानमा विस्फोटको ठुलो आवाज सुनिएको र भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथिको आक्रमणलाई 'अपरेसन राइजिङ लायन' नाम दिइएको र इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार गरिएको बताएका छन् । नेतन्याहूले आफ्नो देशका लागि खतरा भएको भन्दै आक्रमण जरुरी रहेको तर्क गरेका छन् । नेतन्याहूले आक्रमण केही दिन जारी रहने पनि बताएका छन्।
उता, इरानको सरकारी सञ्चार माध्यमले रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरायली हमला भएको पुष्टि गरेको छ । आक्रमणपछि तेहरानको विमानस्थल बन्द गरिएको छ । यद्यपि, इरानको उच्च तहबाट आक्रमणलाई लिएर हालसम्म प्रतिक्रिया आइसकेको छैन ।
इजरायलले भने इरानले प्रत्याक्रमण गर्ने भन्दै देशभर आपत्काल घोषणा गरेको छ ।
अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेको छ ।