८४ वर्षको उमेरमा अगस्ट २७ मा हेगमा जीवनभरको कारावास भोगिरहेका बेला मृत्यु भएका म्लाडिचलाई सेप्टेम्बर ७ मा बेलग्रेडको टोपचिदेर चिहानमा दफन गरिएको हो । उनको अन्त्येष्टिमा हजारौँ मानिस सहभागी भए । केही सर्बियाली सरकारी अधिकारी तथा बोस्नियाको सर्व–बहुल इकाइ रिपब्लिका स्पस्र्काका नेताहरू पनि सहभागी भए । अन्त्येष्टिमा सैनिक सम्मान र राष्ट्रवादी नाराहरू देखिएपछि घटनाले अन्तर्राष्ट्रिय आलोचना निम्त्यायो ।
युरोपेली संघले युद्ध अपराधमा दोषी ठहर भएका व्यक्तिको महिमामण्डनलाई कडा रूपमा अस्वीकार गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले अन्त्येष्टिका दृश्यलाई ‘स्तब्ध पार्ने’ भन्दै यस्तो घटनाले सर्बियाको ईयु सदस्यता प्राप्त गर्ने विषयलाई असर गर्न सक्ने चेतावनी दिएकी छन् ।
युगोस्लाभियाको विघटन र बोस्निया युद्ध
म्लाडिचको अन्त्येष्टिको अर्थ बुझ्न तीन दशकअघिको बोस्निया युद्धतर्फ फर्किनुपर्छ । सन् १९९० को दशकको सुरुवातमा समाजवादी युगोस्लाभिया विघटन हुन थालेपछि स्लोभेनिया र क्रोएसियाले स्वतन्त्रता घोषणा गरे । त्यसपछि बहुजातीय बोस्निया–हर्जेगोभिनाले पनि स्वतन्त्रताको बाटो रोज्यो । सन् १९९२ मा स्वतन्त्रता घोषणा भएपछि बोस्नियाक, सर्व र क्रोएट समुदायबीच सत्ता, भूभाग र राज्यको भविष्यलाई लिएर युद्ध सुरु भयो ।
सन् १९९२ देखि १९९५ सम्म चलेको युद्धमा एक लाखभन्दा बढी मानिस मारिए र लाखौँ मानिस विस्थापित भए । युद्धमा हत्या, जातीय सफाया, यातना, बलात्कार, र जबर्जस्ती विस्थापन व्यापक रूपमा प्रयोग भए ।
बोस्नियाली सर्व नेतृत्वले स्वतन्त्र बोस्निया स्वीकार नगरी सर्बहरूको नियन्त्रणमा रहेका क्षेत्रमा छुट्टै राजनीतिक संरचना निर्माण गर्न खोजेको थियो । त्यस अभियानमा गैर–सर्व जनसंख्यालाई आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट हटाउने प्रयास भएको अन्तर्राष्ट्रिय न्यायिक अनुसन्धानले देखाएको छ ।
म्लाडिचको सैन्य भूमिका
राट्को म्लाडिच सन् १९९२ मा बोस्नियाली सर्व सेनाको मुख्य कमान्डर बने । संयुक्त राष्ट्रसंघअन्तर्गतको पूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण आईसीटीवाईले सन् २०१७ मा उनलाई नरसंहार, मानवताविरुद्धका अपराध तथा युद्ध अपराधमा दोषी ठहर गर्दै आजीवन कारावास सुनाएको थियो ।
अदालतले म्लाडिचको भूमिकालाई चार प्रमुख आपराधिक अभियानसँग जोडेको थियो । तीमध्ये बोस्नियाका विभिन्न क्षेत्रमा गैर–सर्व जनसंख्यालाई हटाउने अभियान, सारायेभोमा सर्वसाधारणमाथि आतंक फैलाउने अभियान, स्रेब्रेनित्साका बोस्नियाक मुस्लिम जनसंख्या नष्ट गर्ने अभियान र संयुक्त राष्ट्रसंघका कर्मचारीलाई बन्धक बनाउने अभियान थिए ।
उनको मुद्दा राजनीतिक आरोपमा मात्र आधारित थिएन । लामो न्यायिक प्रक्रियापछि अदालतले प्रमाण र साक्षीका आधारमा फैसला गरेको थियो । सन् २०२१ मा अपिलसम्बन्धी अन्तिम फैसलाले उनको दोषसिद्धि र आजीवन कारावासको सजाय कायम राख्यो ।
सारायेभोको चार वर्ष लामो घेराबन्दी
म्लाडिचको नाम स्रेब्रेनित्सासँग मात्र जोडिँदैन । बोस्नियाली राजधानी सारायेभोको घेराबन्दी पनि उनको सैन्य भूमिकाको प्रमुख हिस्सा हो ।
सन् १९९२ देखि करिब चार वर्षसम्म शहर सर्व सेनाको घेराबन्दीमा रह्यो । सर्वसाधारण खाद्यान्न, पानी, औषधि र विद्युत्को अभावमा बाँच्न बाध्य भए । स्नाइपर र तोपबाट भएको आक्रमणमा ठूलो संख्यामा नागरिक मारिए र घाइते भए ।
अन्तर्राष्ट्रिय न्यायाधिकरणले सारायेभोका नागरिकमाथि स्नाइपर र गोलाबारीमार्फत आतंक फैलाउने अभियानमा म्लाडिचको नेतृत्वकारी भूमिका रहेको ठहर गरेको थियो ।
स्रेब्रेनित्सा : सबैभन्दा गम्भीर अपराध
म्लाडिचको विरासतसँग जोडिएको सबैभन्दा गम्भीर घटना भने सन् १९९५ को स्रेब्रेनित्सा नरसंहार हो । संयुक्त राष्ट्रसंघले ‘सुरक्षित क्षेत्र’ घोषणा गरेको स्रेब्रेनित्सामा जुलाई १९९५ मा बोस्नियाली सर्व सेनाले नियन्त्रण कायम गरेपछि बोस्नियाक पुरुष र किशोरहरूलाई महिलाहरू तथा बालबालिकाबाट अलग गरियो । त्यसपछि करिब ८,००० बोस्नियाक मुस्लिम पुरुष तथा बालकको हत्या गरिएको थियो । हजारौँ महिला, बालबालिका र वृद्धलाई पनि जबर्जस्ती अन्यत्र सारियो ।
संयुक्त राष्ट्रसंघीय न्यायिक संयन्त्रले स्रेब्रेनित्सामा भएको घटनालाई नरसंहारका रूपमा स्थापित गरेका छन् । म्लाडिचलाई पनि त्यस अपराधमा दोषी ठहर गरिएको हो ।
युद्ध सकियो, विभाजन बाँकी रह्यो
सन् १९९५ को डेटन शान्ति सम्झौताले बोस्निया युद्ध अन्त्य गर्यो । तर सम्झौताले युद्धका सबै राजनीतिक समस्या समाधान गरेन ।
डेटनपछि बोस्निया–हर्जेगोभिना दुई प्रमुख इकाइमा विभाजित भयो । एक फेडेरेसन अफ बोस्निया एन्ड हर्जगोभिना र अर्को रिपब्लिका स्पस्र्का । केन्द्रीय सरकारसँगै जातीय आधारमा शक्ति बाँडफाँट गरिएको जटिल राजनीतिक प्रणाली निर्माण भयो ।
यसले युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेले पनि बोस्नियाको राजनीतिमा जातीय पहिचानलाई अझै बलियो बनाएको आलोचना हुँदै आएको छ । आज पनि बोस्नियाक, सर्व र क्रोएट पहिचान राजनीतिक निर्णयका महत्त्वपूर्ण आधार हुन् ।
रिपब्लिका स्पस्र्काका नेताहरू र केन्द्रीय सरकारबीच अधिकार र राज्य संस्थाको भूमिकालाई लिएर हुने विवादले पनि देशको राजनीतिक स्थिरतामाथि प्रश्न उठाउँदै आएको छ ।
किन म्लाडिच अझै केही सर्बका लागि ‘नायक’ ?
बोस्नियाक समुदाय र युद्धपीडितका लागि म्लाडिच युद्ध अपराधी हुन् । तर सर्बियाका केही राष्ट्रवादी समूहका लागि उनी सर्व समुदायको ‘रक्षक’ र युद्धकालीन सैन्य नायक हुन् । यही फरक ऐतिहासिक व्याख्या अहिलेको विवादको मुख्य कारण हो ।
सर्व राष्ट्रवादी आख्यानमा बोस्नियाली सर्बहरू आफ्नो अस्तित्व र सुरक्षाका लागि लडिरहेका थिए र म्लाडिच त्यस संघर्षका सैन्य प्रतीक थिए । तर बोस्नियाक पीडितका लागि त्यही सैन्य अभियान जातीय सफाया, घेराबन्दी र नरसंहारको प्रतीक हो ।
त्यसैले म्लाडिचको तस्वीर, नारा र उनको समर्थनमा हुने सार्वजनिक प्रदर्शन केवल एउटा व्यक्तिप्रतिको सम्मान नभई इतिहासलाई कसरी सम्झने भन्ने संघर्ष पनि बनेको छ ।
सर्बियाको ईयु यात्रा
अन्त्येष्टिको अर्को महत्त्वपूर्ण पक्ष सर्बियाको युरोपेली संघ सदस्यता आकांक्षा हो । सर्बिया लामो समयदेखि ईयु सदस्य बन्न प्रयासरत छ । तर कानुनी शासन, लोकतान्त्रिक संस्था, सञ्चार स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण र क्षेत्रीय मेलमिलापजस्ता विषयमा ईयुले बेलग्रेडबाट सुधारको अपेक्षा गर्दै आएको छ ।
युद्ध अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सैनिक सम्मानसहित बिदाइ गरिनु ईयुका लागि संवेदनशील विषय बनेको छ । ईयुका नेताहरूले यस्तो महिमामण्डनले युरोपेली मूल्यमान्यता र युद्ध अपराधप्रतिको न्यायिक दृष्टिकोणसँग विरोधाभास देखाउने बताएका छन् ।
अन्त्येष्टिले के देखायो ?
म्लाडिचको मृत्युले उनको जीवन समाप्त गर्यो, तर उनीसँग जोडिएको विवाद समाप्त भएन । बेलग्रेडमा हजारौँ मानिसले उनलाई सम्मानका साथ बिदाइ गर्दा बोस्नियाका युद्धपीडित परिवारका लागि त्यही दृश्य पीडादायी थियो । विशेषगरी स्रेब्रेनित्सा र सारायेभोका पीडितका लागि म्लाडिचको सार्वजनिक सम्मान उनीहरूले भोगेको पीडाको अस्वीकारजस्तो देखिन्छ ।
यही कारण उनको अन्त्येष्टि तीन दशकअघिको युद्धको इतिहास सम्झने अवसर मात्र रहेन । यसले न्याय, ऐतिहासिक स्मृति, राष्ट्रवाद र मेलमिलापका प्रश्न अझै समाधान नभएको देखायो ।
बोस्नियाको अनुभवले एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ—बन्दुक रोकिँदैमा युद्धका सबै घाउ निको हुँदैनन् । १९९५ मा युद्ध रोकियो, तर विस्थापन, जातीय विभाजन, राजनीतिक अविश्वास र विगतको व्याख्यालाई लिएर संघर्ष अझै जारी छ । म्लाडिचको अन्त्येष्टिमा देखिएको विभाजित प्रतिक्रिया त्यसैको प्रमाण हो । एउटै व्यक्तिलाई एउटा समुदायले ‘नायक’ सम्झँदा अर्को समुदायले ‘नरसंहारका दोषी’का रूपमा सम्झिरहेको छ । त्यसैले तीन दशकपछि पनि बोस्निया युद्धको वास्तविक अन्त्य इतिहासको पानामा मात्र भएको छ । त्यसका राजनीतिक र सामाजिक चोट भने अझै पूर्ण रूपमा निको भएका छैनन् ।