नर्वेका दिवङ्गत राजा हेराल्ड पाँचौँका लागि २० लाख डलरको अन्तिम विश्रामस्थल

आप्रवासन आप्रवासन

नर्वेका दिवङ्गत राजा हेराल्ड पाँचौँका लागि करिब २० लाख अमेरिकी डलर खर्चमा तयार गरिएको विशेष सार्कोफागस बुधबार सार्वजनिक चासोको विषय बनेको छ । ८९ वर्षको उमेरमा अगस्ट २८ मा निधन भएका उनलाई पत्नी रानी सोनजासँगै राख्न उक्त  अन्तिम विश्रामस्थल तयार गरिएको हो ।

सरकारले सन् २०२४ मा यसको निर्माणका लागि दुई करोड नर्वेजियन क्रोनर बजेट छुट्याएको थियो । त्यसबेला राजा हेराल्डले आफ्नो अन्तिम विश्रामस्थलका लागि बजेट छुट्याइएको विषयमा हास्यपूर्ण टिप्पणी गर्दै सार्कोफागसलाई इजिप्टका चिहानसँग तुलना गरेका थिए ।

प्रसिद्ध नर्वेजियन वास्तुकला संस्था स्नोहेट्टाले हेराल्ड र सोनजाका लागि दोहोरो सार्कोफागस डिजाइन गरेको हो । उनको अन्त्येष्टि सेवापछि पार्थिव शरीरलाई अकोर्शस किल्लास्थित शाही समाधिमा लगेर निजी समारोहबीच अन्त्येष्टि गरिनेछ । सन् १९४९ मा निर्मित उक्त समाधिमा यसअघि राजा हाकोन सातौँ र रानी मौड तथा राजा ओलाव पाँचौँ र क्राउन राजकुमारी मार्थाका सार्कोफागस राखिएका छन् । शाही परिवारलाई समाधिमा राख्ने परम्परालाई निरन्तरता दिँदै नयाँ सार्कोफागस तयार गरिएको नर्वेजियन राजदरबारले जनाएको छ ।

राजा हेराल्डको अन्त्येष्टि समारोहका कारण अकोर्शस किल्लास्थित शाही समाधि हाल सर्वसाधारणका लागि बन्द गरिएको छ ।