इजरायल-इरान द्वन्द्वको असर

इजरायल र इरानबिचको द्वन्द्वले नेपाल र नेपालीलाई पार्ने असर

आप्रवासन आप्रवासन

नेपालीहरूको एक रोजगार गन्तव्य मुलुक इजरायल यति बेला इरानसँग युद्धमा छ । केही दिनदेखि इजरायल र इरान आक्रमण, प्रत्याक्रमणको तहमा पुगेका छन् । जस कारण मध्यपूर्व असन्तुलित हुन पुगेको छ । यदि यो द्वन्द्व लामो समय चले विश्व असन्तुलित हुनेछ ।  जसको सिधा असर नेपाल र नेपालीमा पनि पर्ने छ । 

सबैभन्दा पहिलो असर इजरायलमा रहेका नेपालीमा पर्नेछ । त्यहाँ रहेका नेपालीको सुरक्षाको संवेदनशीलता बढ्नेछ। इजरायलमा करिब ५ हजार नेपाली कार्यरत छन् । इजरायलमा मुख्य गरी घरेलु कामदार, कृषि क्षेत्रमा अधिक नेपाली रोजगारीमा छन् । उनीहरूको रोजगारी गुम्न सक्छ । अवस्था, अझ विकराल बन्दै गए ती नेपालीहरू स्वदेश फर्कनु पर्ने स्थिति पनि आउन सक्छ । इरानमा भने दुई दर्जन जति मात्र नेपाली रहेकाले प्रभाव त्यहाँ तुलनात्मक रूपमा कम छ ।

तर इजरायल-इरान द्वन्द्वको असर त्यतिकै सीमित हुने छैन । त्यसको बाछिटा नेपालसम्मै आइपुग्ने छ । इरान विश्वको प्रमुख तेल उत्पादक राष्ट्र हो । इजरायलले इरानको मुख्य तेल शुद्धीकरण कारखानामा आक्रमण गरेको छ । यसले गर्दा इन्धन आपूर्तिमा असन्तुलन सिर्जना हुन सक्ने विज्ञहरूको विश्लेषण छ । भारतले रुस, इरान लगायतका देशबाट कच्चा तेल आयात गर्दछ । यसरी ल्याएको कच्चा तेल भारतले प्रशोधन गर्दछ । नेपालले भारतबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने गर्छ । यसले गर्दा अहिलेको द्वन्द्वको असर स्वरूप इरानसँगै मध्यपूर्वका देशहरूबाट निर्यात हुने पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खलामा असर पुग्ने देखिन्छ । माग अनुरूप जब आपूर्ति हुँदैन, तब त्यसको मूल्य बढ्छ । यसको असर विश्वमा देखिन सुरु भइसकेको छ । इन्धनको मूल्य यो वर्षको उच्च बिन्दुमा पुगेको छ । अर्थात्, अब नेपालमा समेत इन्धनको मूल्य बढ्ने देखिन्छ । 

इन्धनको मूल्य आकासिनासाथ खाद्यान्न, ढुवानी, औद्योगिक उत्पादन आदिको खर्च असन्तुलित हुन सक्छ । फलस्वरूप आयातमा निर्भर नेपाल जस्ता देशहरूमा महँगी बढ्ने छ भने अन्य धेरै क्षेत्रमा असन्तुलन पैदा गर्ने छ । त्यसको सिधा असर स्वरूप अर्थतन्त्रमा सङ्कुचन आउन सक्छ । उता, इन्धनको मूल्य आकासिँदा सुनको भाउमा पनि अस्वाभाविक वृद्धि हुन थालेको छ । विश्वका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकशिएको हो । अर्थात्, अब नेपालमा समेत सुनको मूल्य बढ्ने देखिन्छ । 

यो द्वन्द्वको असर स्वरूप मध्यपूर्वमा रहेका नेपालीलाई समेत पर्न सक्ने देखिन्छ । यदि यो द्वन्द्वमा मध्यपूर्वका देशहरू तानिए भने त्यहाँको शान्तिसँगै रोजगारीमा असर पुग्ने छ । मध्यपूर्वमा मात्रै ३० लाख बढी नेपाली कार्यरत रहेको अनुमान छ । स्थिति बिग्रिँदै गए मध्यपूर्वमा कार्यरत नेपाली समेत प्रभावित बन्ने छन् । 

यसबाहेक, विश्वको अर्थतन्त्र नै थप सङ्कटतर्फ लम्कने छ । र, त्यसले विश्व भरी छरिएर बसेका नेपालीहरूलाई प्रभाव पार्ने छ ।