अमेरिकाले भुटानसहित थप ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले एक आन्तरिक कूटनीतिक सन्देश, क्याबलमा हस्ताक्षर गर्दै त्यससम्बन्धी मेमो अमेरिकी राजदूतहरूलाई पठाएका हुन् । जसमार्फत थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण वा आंशिक रूपमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारिएको हो।
अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको मुलुकहरूमा एसियाका भुटानसहित किर्गिजस्तान, सिरिया र कम्बोडिया छन् ।
अफ्रिकाका भने २५ देशकाका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी छ । जसमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, कङ्गो, जिबौटी र इथियोपिया छन् । यस्तै, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया र नाइजरमाथि पनि प्रतिबन्धको तयारी छ । नाइजेरिया, साओ टोमे एन्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे पनि सूचीमा छन् ।
क्यारेबियन क्षेत्रतर्फ एन्टिगुवा एन्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एन्ड नेभिस र सेन्ट लुसियाका नागरिकमाथि प्रतिबन्धको तयारी गरिएको छ ।
ओसनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको सम्भावित सूचीमा छन् ।
यी देशहरूले ६० दिनभित्र तोकिएको सुरक्षा र परिचय प्रमाणीकरणसम्बन्धी मापदण्डहरू पुरा नगरे प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ। प्रतिबन्ध लागेमा ती देशका नागरिकले अमेरिका प्रवेश गर्न पाउने छैनन् ।
केही साताअघि मात्रै अमेरिकाले १२ देशका नागरिकमाथि पूर्ण र ७ देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाएको थियो ।