वैदेशिक रोजगारीमा नेपाली

११ महिनामा काम खोज्दै विदेशिए साढे ७ लाख नेपाली

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख बढी नेपाली काम खोज्दै विदेशिएका गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि जेठसम्ममा ७ लाख ६० हजार ३९१ नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

यो अघिल्ला वर्षको तुलनामा ११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ६ लाख ८२ हजार ५६६ जना वैदेशिक रोजगारीमा गएका थिए ।

गत वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ७७ हजार ८२५ ले बढेको हो । विभागका अनुसार गत साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ नेपाली कामका लागि विदेशिएका छन् । माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३ र चैतमा ७३ हजार ४०३ नेपाली बाहिरिएका छन् ।

वैशाख र जेठमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः ७८ हजार ५० र ७४ हजार ४४६ छ । यो तथ्याङ्कबाट हरेक महिना औसतमा ६९ हजार नेपाली काम खोज्दै विदेश गइरहेको देखिन्छ ।