इजरायल-इरान युद्ध

इजरायल-इरान युद्ध असर; फेरि बढ्यो तेलको मूल्य

आप्रवासन आप्रवासन

इजरायल र इरानबिचको युद्ध र अमेरिका संलग्न हुने आशङ्कामाझ कच्चा तेलको मूल्य पुन: बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार कच्चा तेलको मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

मंगलबार राती ब्रेन्ड नर्थ सी क्रुड र वेस्ट टेक्सस इन्टरमिडियट दुवै बेन्चमार्कमा कच्चा तेलको मूल्य बढेको हो । ब्रेन्ड नर्थ सीमा कच्चा तेलको मूल्य ४ दशमलव ४ प्रतिशत र वेस्ट टेक्ससमा ४ दशमलव ३ प्रतिशतले बढेको हो । योसँगै प्रति ब्यारेल कच्चा तेलको मूल्य क्रमशः ७६ दशमलव ४५ अमेरिकी डलर र ७४ दशमलव ८४ अमेरिकी डलर पुगेको छ ।

यी दुई विश्वका प्रसिद्ध कच्चा तेलको मूल्य निर्धारक हुन ।

अझ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न भनेपछि बुधबार बिहान पनि कच्चा तेलको मूल्य शुन्य दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

इजरायलले इरानका कैयौँ तेल तथा ग्यास प्रशोधन कारखाना हमला गरेको छ । जसले गर्दा विश्व बजारमा तेल आपूर्ति केही घटेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत पर्ने छ र नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने छ ।