इजरायल र इरानबिच युद्ध सुरु भएपछि मध्यपूर्व असन्तुलित बनेको छ । उसो त, यमन, गाजा, प्यालेस्टाइन, लिबिया लगायतका मुलुकमा लामो समयदेखि द्वन्द्व जारी छ । तर अहिले मध्यपूर्वका २ शक्तिशाली एवं कट्टर शत्रु राष्ट्र इजरायल र इरान नै भिडन्तमा होमिएपछि यस क्षेत्र थप अस्थित बनेको हो ।
यी दुई बिच कति समय कुन तहको युद्ध जारी रहन्छ भन्न सकिने अवस्था छैन ।
यस्तोमा अहिले धेरैको चासो छ, के अमेरिका पनि यस युद्धमा तानिएला ? यो प्रश्न सोधिएको थियो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई । जसको जवाफ दिँदै ट्रम्पले त्यो सम्भावना रहेको बताएका छन् ।
यस्तै, ट्रम्पले अमेरिकी अखडाहरूमा इरानले आक्रमण गरेमा उसले कहिल्यै नचिताएको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
इरानले अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकलाई युद्धमा इजरायललाई नसघाउन भनेको छ । इजरायललाई सघाए गम्भीर परिणाम भोग्नु पर्ने इरानको चेतावनी छ ।
यही पृष्ठभूमिमा ट्रम्पको प्रतिक्रिया आएको हो ।
तर इरान होस् वा मध्यपूर्वका अन्य कुनै राष्ट्र, अमेरिकासँग पंगा लिन खोज्नु सहज छैन । किनभने मध्यपूर्वमा मात्रै विभिन्न १९ ठाउँमा अमेरिकी सैन्य अखडाहरू छन् ।
यो भिडियोमा हामी मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सैन्य अखडाहरूका बारेमा जानकारी दिँदै छौँ ।
मध्यपूर्वमा अमेरिकी सेना तैनाथी आजभन्दा ६७ वर्षअघि बाटै सुरु भएको हो । मध्यपूर्वको लेबनानमा १९५८ मा गृह युद्ध चलिरहेको थियो । लेबनानको तत्कालीन सरकारले अमेरिकासँग सहयोग माग गर्यो । कम्युनिजम रोक्न आवश्यक भन्दै अमेरिकाले पनि सो वर्ष लेबनानमा हातहतियारले सुसज्जित आफ्ना १ हजार ७ सय सैनिक पठायो ।
६७ वर्षअघि लेबनानमा पठाइएका ती सैनिक आज मध्यपूर्वका १९ क्षेत्रमा फैलिएका छन् ।
अमेरिकी थिङ्क ट्याङ्क द काउन्सिलस अन फरेन रिलेसन्सका अनुसार मध्यपूर्वमा मात्र हाल ४० हजारदेखि ५० हजार अमेरिकी सैनिक तैनाथ छन् । ती सैनिकहरू स्थायी र अस्थायी अखडाहरूमा राखिएका छन् ।
जसमध्ये बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरब र युएईमा गरी ८ वटा स्थायी अखडाहरू छन्। अन्य ११ स्थलहरूमा भने अस्थायी तथा साना सैन्य अखडा छन् ।
सबैभन्दा धेरै अमेरिकी सेना कतार, बहराइन, कुवेत, युएई र साउदी अरब छन्।
कुन देशमा ठ्याक्कै ती सेना तैनाथ छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
यी सैन्य अखडाहरूले हवाई र नौसेना सञ्चालन, क्षेत्रीय लजिस्टिक तथा निगरानी, गुप्तचर सूचना सङ्कलन र फोर्स प्रक्षेपणको लागि महत्त्वपूर्ण केन्द्रको रूपमा काम गर्छन्।
त्यसैले मध्यपूर्वमा अमेरिकी सैन्य अखडामा हमला गर्ने प्रयत्न हतपत कुनै देशले गर्न सक्दैनन् ।