इजरायल-इरान युद्ध

इजरायल-इरान युद्धबाट आफ्ना नागरिक निकाल्न देशहरूलाई सकस

आप्रवासन आप्रवासन

गत जुन १२ मा इजरायलले इरानमाथि हमला गरेपछि सुरु यी २ देशबिचको युद्ध चर्किँदै गएको छ । युद्ध थप आक्रामक हुँदा हाताहातीको सङ्ख्या समेत दुवै तर्फ बढ्दै गएको छ । अझ अमेरिका समेत युद्धमा तानिन सक्ने चर्चाले विश्व थप तरङ्गित बनेको छ ।

तनाव थप चर्किने देखेर विभिन्न देशले ती क्षेत्रमा रहेका दूतावास बन्द गर्न थालेका छन् । हालसम्म चेक रिपब्लिक, न्युजिल्याण्ड, स्वीजरल्याण्ड र अस्ट्रेलियाले इरानमा रहेको आफ्नो दूतावास बन्द गरेका छन् ।

यस्तै धेरै देशले इजरायल र इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्कन अपिल गरेका छन् । नेपालले समेत ती देशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गर्दै आवश्यक परेमा उद्धार गर्ने बताएको छ ।

तर नेपालसहितका देशहरूलाई द्धन्द्धग्रस्त ती क्षेत्रबाट आफ्ना नागरिक निकाल्न भने सहज देखिँदैन । यसको प्रमुख कारण भनेको दुवै देशमा हवाई उडान बन्द हुनु हो । 

लगातारको क्षेप्यास्त्र आक्रमणहरूका कारण दुवै देशमा व्यावसायिक हवाई उडान ठप्प छन् । यस्तै, धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले ती क्षेत्रसँगै तीनका छिमेकी देशमा समेत उडानहरू रोकेका छन् । यस्तोमा यी देशहरूबाट आफ्ना नागरिक निकाल्न देशहरूलाई असहज भएको हो ।

त्यसैले धेरै देशहरूले स्थल मार्ग हुँदै छिमेकी देशको सीमा पार गराएर आफ्ना नागरिकको उद्धार गर्न थालेका छन् । बिबिसीका अनुसार हालसम्म अस्ट्रेलियाले इरानबाट एक हजार ५०० र इजरायलबाट एक हजार २०० नागरिकको उद्धार गरेको छ । चीनले आफ्ना १ हजार ६ सय नागरिकलाई इरानबाट र केही सयलाई इजरायलबाट निकालेको छ । भारतले पनि ११० भारतीयहरूलाई इरानबाट निकालेको छ र इजरायलबाट फर्कन चाहनेलाई सम्पर्क गर्न भनेको छ । जापानले आफ्ना ९० जना नागरिकलाई इजरायल र इरानबाट उद्धार गरेको छ ।

यीबाहेक अन्य देशले हालसम्म निकै न्यून सङ्ख्यामा मात्रै आफ्ना नागरिकलाई स्वदेश फर्काउन सकेका छन् । किनकि, स्थल मार्गमार्फत उद्धारको पक्रिया पनि निकै असुरक्षित र जटिल छ । लगातारको क्षेप्यास्त्र वर्षाका कारण कुन बेला क्षेप्यास्त्र कहाँ खस्छ भन्ने पूर्वानुमान छैन । यस्तै, सीमासम्म पुग्ने सहज यातायातको अभावले पनि समस्या थपेको छ । यस्तोमा द्धन्द्धग्रस्त ती देशबाट विदेशी फर्काउन इरान र इजरायलका छिमेकी देशहरूको सहयोग अपरिहार्य देखिएको छ ।