इरानको राजधानी तेहरानमा रहेका ११ नेपालीको आज उद्धार गरिँदै छ । तेहरानस्थित भारतीय दूतावासले भारतीयहरूलाई फर्काउँदा नेपालीहरूको समेत उद्धारका गर्न लागेको हो ।
भारतीय दूतावासले आइतबार तेहरानबाट बसबाट भारतीय, नेपाली र श्रलंकालीलाई कोम हुँदै मशहद लैजाने तयारी गरेको छ । मशहदबाट सबै जनालाई विमानमार्फत भारत उडाइने योजना छ ।
हाल भारतीय दूतावासका अधिकारीहरू मशहदमा बसेर भारत पठाउने कार्यमा व्यस्त छन् ।
परराष्ट्र मन्त्रालयले इरानबाट भारतीयहरूको उद्धार गर्दा नेपालीहरूलाई समेत समावेश गर्न भारत सरकारलाई आग्रह गरेको थियो । सोही अनुरूप भारतले नेपालीको समेत उद्धार गर्न लागेको हो ।
यद्यपि, इरानी जेलमा रहेका ५ जना नेपालीको भने कहिले उद्धार हुन्छ भन्ने यकिन छैन । कतारस्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट पठाइसके पनि पक्रिया सकिएको छैन । एक महिनाअघि मात्रै ती नेपाली इरानको आवासीय कानुन उलङ्घन आरोपमा जेल परेका थिए ।