नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्मा 'प्रभाकर'ले विश्व तेस्रो विश्व युद्धको सङ्घारमा गइरहेको भन्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि सरकारले के कदम चाल्दै छ भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मध्यपूर्वमा रहेका नेपालीका सन्दर्भमा गम्भीर हुन आवश्यक रहेकोमा जोड दिएका हुन् ।
सांसद शर्माले भने, "मैले यही रोष्टमबाट एक वर्ष पहिले भनेको थिएँ, परिस्थिति त्यहाँ पुग्ने अवस्था छ, त्यसको लागि हामी यहाँको उत्पादन, रोजगारी सिर्जना गर्नेतिर बेलैमा छलफल गरौँ, तर त्यो हामीले गरेनौँ, अब उनीहरूको सुरक्षाका बारेमा सरकारले के गर्छ, यो गम्भीर विषय छ ।"
शर्माले मध्यपूर्वमा युद्ध चर्किँदा त्यहाँ रहेका ४०औँ लाख नेपालीलाई कसरी फिर्ता ल्याइने र रोजगारी दिने भन्ने विषय निकै गम्भीर भएको बताउँदै त्यसप्रति सरकारलाई सचेत समेत गराएका छन् ।