वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बिदेशमै मृत्यु भएपछिको राहत तथा सहायता कार्यमा ढिलाइ भएको भन्दै वैदेशिक रोजगार बोर्डले गम्भीर चासो व्यक्त गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको बोर्डले सबै स्थानीय तह, रोजगार सेवा केन्द्र र आप्रवासी स्रोत केन्द्रहरूलाई पत्र पठाउँदै प्रक्रिया छिटो पार्न निर्देशन दिएको हो ।
बोर्डले मृत्यु भएका श्रमिकको परिवारबाट प्राप्त निवेदनका आधारमा सम्बन्धित वडाले तयार गर्ने सिफारिस पत्र र अन्य कागजातहरू FEWIMS प्रणालीमा तुरुन्तै अपलोड गर्नुपर्ने र सो कागजातहरू प्रमाणित (Verify) पनि चाँडो गरिनुपर्ने स्पष्ट पारेको छ ।
त्यस्तै, अपलोड र प्रमाणिकरण पश्चात् जानकारी वैदेशिक रोजगार बोर्डको इमेल [email protected] मा पठाउन समेत बोर्डले आग्रह गरेको छ ।
बोर्डका अनुसार मृतक श्रमिकको परिवारलाई सरकारले दिने राहत सहायता स्थानीय तह र रोजगार सेवा केन्द्रबाट अगाडि बढाइन्छ। तर आवश्यक कागजात तथा सिफारिसमा भएको ढिलाइले पीडित परिवार थप मारमा परेको छ ।