मलेसियामा महँगी वृद्धिदर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ । सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै मलेसियाली पत्रिका फ्रि मलेसिया टुडेले मे महिनाको यो महँगी दर ५१ महिनायताकै न्यून रहेको जनाएको हो ।
अघिल्ला महिना र वर्षहरूको दाँजोमा मलेसियामा लगभग सबै उपभोग्य वस्तुको भाउ घटेको सरकारी दाबी छ ।
खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि २ दशमलव १ प्रतिशतमा सीमित भएको छ । यस्तै, व्यक्तिगत स्याहार ० दशमलव ४ प्रतिशत र हाउजिङ, पानी, ग्यास र बिजुलीको मूल्य ० दशमलव ३ प्रतिशतले घटेको छ । यातायात र बिमाको मूल्य दर भने स्थिर छ ।
मलेसियाको तथ्याङ्क विभागका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले महँगी घटाएको हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्य घटेको हो ।
मूल्यवृद्धिमा आएको कमीले मलेसियामा कार्यरत नेपाली कामदारको दैनिक जीवन सहज हुने अपेक्षा छ । मलेसियामा वैध हैसियतमा झन्डै ४ लाख नेपाली कार्यरत छन् ।