वैदेशिक रोजगार विभागलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन र ठगी रोक्न विशेष सुधार अभियान थाल्दै विभागले बिचौलियामुक्त घोषित गरेको हो ।
विभागले संस्थागततर्फ इजाजत पत्र प्राप्त संस्थाले पूर्व श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिएकै दिन कार्यालय समयभित्रै पूर्व श्रम स्वीकृति दिने गरेको छ ।
यस्तै, वैदेशिक रोजगारी सम्बन्धी ठगी नियन्त्रण गर्न र छिटो छरितो राहत, उद्धार एवं गुनासो सम्बोधन गर्न क्विक रेस्पोन्सड टिम परिचालन गरिएको विभागको भनाई छ ।
सुधारका कार्यक्रमअन्तर्गत विभागले २ मिनेटभित्रमा श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसबाट सर्वसाधारण श्रमिकलाई निकै राहत पुगेको विभागको दाबी छ ।
विभागले आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरी कर्मचारीलाई कार्यालय समयभित्र सोही दिनको कार्य फर्स्यौट गर्नुपर्ने प्रणालीको विकास गरिएको जनाएको छ ।
विभागले मुद्दा, उजुरी र गुनासो सम्बोधन गर्न सबै राजपत्राङ्कित अधिकृतहरूलाई अनुसन्धान अधिकृत तोकी मुद्दा फर्छ्यौट कार्यमा समेत तीव्रता दिएको छ ।