अस्ट्रेलियाले दक्ष आप्रवासी कामदारको न्यूनतम तलब सीमा बढाएको छ । अस्ट्रेलियाको गृह मन्त्रालयले यही जुलाई १ देखि लागु हुने गरी नयाँ तलब सीमा निर्धारण गरेको हो ।
यस अनुसार अब कोर स्किल भएका कामदारको न्यूनतम आम्दानीको थ्रेसहोल्ड ७६ हजार ५१५ अस्ट्रेलियाली डलर पुग्ने भएको छ । हाल यो श्रेणीमा पर्ने कामदारको न्यूनतम आम्दानीको थ्रेसहोल्ड ७३ हजार १५० अस्ट्रेलियाली डलर छ ।
स्पेसलिस्ट स्किल श्रेणीको भिसा पाएकाहरूको हकमा अब आयको थ्रेसहोल्ड १ लाख ३५ हजार अस्ट्रेलियाली डलरबाट बढेर १ लाख ४१ हजार २१० कायम हुने भएको छ ।
यीबाहेक टेम्पोररी स्किल्ड आप्रवासी कामदारको तलब समेत बढ्ने छ । यो श्रेणीका कामदारको तलब ७६ हजार ५१५ अस्ट्रेलियाली डलर पुग्ने छ । हाल यो श्रेणीका कामदारको तलबको न्यूनतम थ्रेसहोल्ड ७३ हजार १५० अस्ट्रेलियाली डलर छ ।
जुलाई १ बाट आप्रवासी कामदार भर्ना गर्दा रोजगारदाता कम्पनीले यो न्यूनतम तलब वा वार्षिक बजार तलब दरमा जुन बढी हुन्छ सोही प्रदान गर्नुपर्ने छ ।
अस्ट्रेलियाको सरकारले रोजगार प्रणाली र आप्रवासनलाई थप व्यवस्थित बनाउन आम्दानीको थ्रेसहोल्ड बढाइएको जनाएको छ ।
यसबाट अस्ट्रेलियामा रहेका दक्ष नेपाली कामदार समेत लाभान्वित हुने छन् ।