निजामती विधेयकमा चलखेल

निजामती सेवा विधेयकमा भएको चलखेलप्रति सांसदहरूको आपत्ति

आप्रवासन आप्रवासन

निजामती सेवा विधेयकमा भएको चलखेलप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका छन् । 

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सांसद जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भनेका छन् । 

शर्माले सामाजिक सञ्जालमार्फत यस्ता भ्रष्ट र तुच्छ कार्यले संसद्कै उपहास गर्ने भएकोले जो कोही भए पनि तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गरेका छन् । 

शर्माले लेखेका छन्, "संसदीय इतिहासमा कानुन निर्माणको सर्वोच्च निकायमै कानुनको दफामा हेराफेरी जनप्रतिनिधिहरूको अपहरण जनताप्रति बेइमानी, भ्रष्ट र तुच्छ कार्य संसद्कै उपहास गर्ने जो कोही भए पनि तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्छ।"

यस्तै, नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद डा‍. चन्द्र भण्डारीले सीमित व्याक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै चिन्ता प्रकट गरेका छन् । 

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, "संसद्मा सांसदलाई समेत ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी गर्नु पर्दछ । कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन !

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले पारित गरेको सो विधेयकमा सांसदहरूलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको पाइएपछि सांसदहरूले विरोध जनाइरहेका छन् ।