अष्ट्रियास्थित दूतावास

पासपोर्ट नवीकरणका नाममा ठगी, अष्ट्रियास्थित दूतावासको चेतावनी

आप्रवासन आप्रवासन

अष्ट्रियास्थित नेपाली दूतावासले पासपोर्ट नवीकरण गरिदिने नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै नेपालीलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले हालै जारी गरेको सूचनामा अनलाइन फाराम भर्दिने वा राहदानी छिटो बनाइदिने नाममा अनधिकृत रूपमा पैसा उठाउने कार्यप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।

दूतावासका अनुसार राहदानी नवीकरणका लागि कुनै बिचौलिया वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । सम्पूर्ण प्रक्रिया पारदर्शी, अनलाइन र आधिकारिक सूचना अनुसार मात्र हुने स्पष्ट पारिएको छ ।

दूतावासले सेवा लिनेहरुलाइ निर्देशन दिदै भनेको छ-आवेदन खुला भएपछि मात्र अनलाइन फाराम भर्नुहोस् । भरेको आवेदन डाउनलोड गरी राहदानी, नागरिकता र TRC को प्रतिलिपिसँग [email protected] मा पठाउनुहोस् ।

दूतावासले प्रकाशित गरेको नामावलीमा आफ्नो नाम परेको खण्डमा मात्र तोकिएको मिति र समयमा इनरोलमेन्ट सेन्टरमा जानुहोस् । राहदानी नवीकरण शुल्क अनलाइन बैंकिङबाट मात्र तिर्नुहोस् ।

दूतावासले राहदानी सेवाका नाममा हुने गैरकानुनी शुल्क संकलन वा ठगीको प्रयासबारे तुरुन्त जानकारी गराउनसमेत आग्रह गरेको छ।