चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन विभिन्न उपायहरू घोषणा गरेको छ । यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताका लागि आवश्यक न्यूनतम मार्जिन रकम घटाउने निर्णय गरिएको छ ।
चीनको धितोपत्र नियामक निकायका अनुसार सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जमा मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गरिनेछ । उक्त व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ ।
यस निर्णयबाट बजारमा सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झन्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप लगानीयोग्य रकम भित्रिने अनुमान गरिएको छ ।
विशेषज्ञहरूका अनुसार मार्जिन अनुपात घटाउनु चीनको सेयर बजारमा प्रतिकूल आर्थिक चक्रको प्रभाव कम गर्न प्रयोग गरिने प्रमुख नीतिगत उपकरणमध्ये एक हो । विगतमा पनि यस्तो अनुपात घटाउँदा मार्जिन कारोबार र सेयर खरिदबिक्री गतिविधिमा वृद्धि भएको थियो ।
यसैबीच, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले विभिन्न शुल्कमा छुट दिने नयाँ व्यवस्था पनि ल्याएका छन् । यसअन्तर्गत सहभागी संस्थाहरूले तिर्नुपर्ने बिजनेस युनिट प्रयोग शुल्क मिनाहा गरिनेछ ।
यसअघि नै लागू गरिएको सूचीकृत कम्पनीहरूको लिस्टिङ शुल्क तथा ऋणपत्र कारोबारसम्बन्धी शुल्क छुटको व्यवस्था पनि सन् २०२८ सम्म थप दुई वर्षका लागि निरन्तरता दिइनेछ ।
सेन्जेन स्टक एक्सचेन्जले सोही दिन चीनको प्रविधि तथा विकासमुखी कम्पनीहरूको बजार मानिने ऋजष्ल्भहत बोर्डमा सेयर कारोबारका लागि मार्केट मेकर प्रणालीसम्बन्धी नियमको मस्यौदामाथि सार्वजनिक राय माग्न सुरु गरेको छ ।
एक्सचेन्जका अनुसार मार्केट मेकर प्रणाली लागू गर्नाले बजारमा सेयरको माग तथा आपूर्तिलाई सहज बनाउनुका साथै बजारको स्थायित्व र कारोबारको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्ला केही दिनयता चीनका प्रमुख सेयर बजार सूचकहरू ओरालो लागिरहेका बेला यी उपायहरू सार्वजनिक गरिएका हुन्। यसअघि शुक्रबार अमेरिकी सेयर बजारमा आएको ठूलो गिरावटले पनि विश्वका लगानीकर्तामा चिन्ता बढाएको थियो ।
यसै महिनाको सुरुवातमा चीनको केन्द्रीय बैंकले पनि पुँजी बजारलाई सहयोग पुर्याउने उद्देश्यले मौद्रिक नीतिमा थप सहजीकरण गरेको थियो ।
बैंकले सेक्युरिटिज, फन्ड तथा बिमा कम्पनीहरूका लागि बनाइएको स्वाप सुविधा तेस्रोपटक सञ्चालन गरेको थियो। यसबाट वित्तीय संस्थाहरूलाई रकम जुटाउन र सेयर बजारमा लगानी गर्ने क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, सेयर पुनर्खरिद तथा सेयर स्वामित्व वृद्धि गर्न उपलब्ध गराइने पुनः कर्जा सुविधाको ब्याजदरसमेत घटाइएको छ ।
चीन सरकारले पछिल्ला नीतिगत कदममार्फत सेयर बजारमा लगानी प्रवाह बढाउने, लगानीकर्ताको विश्वास कायम राख्ने र बजारको स्थायित्व सुधार गर्ने प्रयास गरेको देखिन्छ ।