युट्युबर ध्रुव राठीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी

आप्रवासन आप्रवासन

 दिल्लीको एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध सोमबार गैर–जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको छ । 

न्यायिक मजिस्ट्रेट अनम रइस खानको इजलासले विकास संकृत्यायन उर्फ विकास पाण्डेले दायर गरेको मानहानि मुद्दामा राठीविरुद्ध उक्त वारेन्ट जारी गरेको हो । 

राठीको युट्युब च्यानलमा अपलोड गरिएको एक भिडियोलाई लिएर पाण्डेले सन् २०१८ मा मानहानिको उजुरी दायर गरेका थिए । अदालतले यस मुद्दामा आगामी डिसेम्बर ३ का लागि अर्को सुनुवाइ तोकेको छ भने विस्तृत आदेश आउन बाँकी छ ।

यसअघि अदालतले अक्टोबर ३१ मा पनि राठीविरुद्ध नयाँ जमानती वारेन्ट जारी गरेको थियो । अक्टोबर १७ मा म्याद तामेल गर्न जाँदा राठीको घरमा ताला लगाइएको भेटिएको भनी तामेलदारले प्रतिवेदन दिएपछि अदालतले उनीविरुद्ध जमानती वारेन्ट जारी गरेको थियो । साथै, अदालतले हरियाणाको गुरुग्रामस्थित उनको ठेगानामा नयाँ म्यादसमेत पठाएको थियो । 

सुनुवाइका क्रममा राठीका वकिलले उनी सामान्यतया अस्ट्रियामा बसोबास गर्ने गरेको र दिल्लीमा भएको ‘ककरोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शनका लागि भारत आएको जानकारी अदालतलाई गराएका थिए । राठीलाई सुरुमा सन् २०१९ को जुलाईमा अदालतमा उपस्थित हुन म्याद जारी गरिएको थियो ।