गृहमन्त्री रमेश लेखकले स्पेन गएर नेपाली नफर्किएको घटनाबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएका तर नफर्किएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।
मन्त्री लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो, अरूहरू कुन संस्थामार्फत कसरी गए, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्यो र कसको समन्वयमा गए भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्।
उनको निर्देशनसँगै केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएका छन्।
यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल असार १४ गते स्पेन भ्रमणमा गएको थियो भने असार २० गते फर्किएको थियो।
तर प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएर केही व्यक्ति नफर्किएको भन्दै त्यसबारे संसद् तथा सञ्चार माध्यमहरूमा विषय उठिरहेको छ ।