स्पेन गएर नफर्किएको घटना

स्पेन गएर नफर्किएको घटना छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति

आप्रवासन आप्रवासन

स्पेन गएर नफर्किएको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा समिति गठन भएको छ । 

सिआइबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहने गरी ६ सदस्यीय समिति गरिएको सिआइबीले जनाएको हो। 

समितिले काम समेत थालिसकेको बताइएको छ । 

सोमबार गृह मन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएका तर नफर्किएको घटना बारे छानबिन गर्न निर्देशन दिएका थिए 

मन्त्री लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो, अरूहरू कुन संस्थामार्फत कसरी गए, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो र कसको समन्वयमा गए भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका थिए। 

उनको निर्देशनसँगै केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान सुरु गरेको हो।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल असार १४ गते स्पेन भ्रमणमा गएको थियो भने असार २० गते फर्किएको थियो। 

तर प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएर केही व्यक्ति नफर्किएको भन्दै त्यसबारे संसद् तथा सञ्चार माध्यमहरूमा विषय उठिरहेको छ ।