चीनका राष्ट्रपति सी जिनपिङ र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ । मंगलबार बेइजिङमा भएको भेटवार्ताबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जयशंकरले जानकारी दिएका हुन् ।
‘मैले हाम्रो (भारत र चीनबीचको) द्विपक्षीय सम्बन्धमा हालैका दिनमा भएका विकासक्रम बारे उहाँ (सी जिनपिङ) लाई जानकारी गराएँ,’ जयशंकरले लेखेका छन्, ‘यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौँ।’
जयशंकर शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।
यसअघि सोमबार जयशंकरले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए।
चिनियाँ समकक्षीसँग भेटवार्तापछि जयशंकरले भारत–चीनबीचको द्विपक्षीय सम्बन्ध तथा सीमा सम्बन्धी विषयहरूमा छलफल भएको बताएका थिए।
पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रमा सन् २०२० मा उत्पन्न सैन्य तनाव र त्यसपछि दुई देशबीचको सम्बन्धमा आएको चिसोपनपछिको यो जयशंकरको पहिलो चीन भ्रमण हो।