अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निराश भएको बताएका छन् ।
बिबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले पुटिनको रवैयाप्रति निराश भए पनि सम्बन्ध भने नटुटेको बताएका हुन् ।
यद्यपि, ट्रम्पले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि बताएका छन् ।
ट्रम्पले आफूले यो युद्ध अन्त्य भएको हेर्न चाहेको भन्दै यदि ५० दिनमा शान्ति सम्झौता भएन भने रुसमाथि कडा भन्सार शुल्क लगाउने चेतावनी समेत दोहोर्याएका छन् ।
पुटिनप्रति आक्रामक ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति भने केही नरम देखिएका छन् ।
ट्रम्पले जेलेन्स्कीलाई यदि अमेरिकाले लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन भनेर सोधेको पाइएको छ ।
जसको जवाफमा जेलेन्स्कीले अमेरिकाले हतियार दिएमा आफूहरूले मस्कोमा हमला गर्न सक्ने बताएका छन् ।
यी घटनाक्रमबाट ट्रम्पले रुसलाई करको धम्की र युक्रेनलाई हतियार दिएर दुवैलाई वार्तामा ल्याउने नीति लिएको अनुमान छ ।