गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा फसेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुल नै बगाएपछि केरुङमै अड्किएका नेपालीहरूलाई तातोपानी नाकाको बाटोबाट नेपाल फर्काउन पहल थालिएको जानकारी दिए।
‘केरुङ नाका पूर्ण रुपमा अवरुद्ध भएपछि तातोपानी नाकाबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ’ पौडेलले भने ।
केरुङमा झन्डै १ हजार २ सय जना नेपालीहरू रहेको प्रजिअ पौडेलले जानकारी दिए।
बाढीमा फसेका ९१ जनाबाहेक कामको सिलसिलामा गएका ११७ जनाले घर फर्कने व्यवस्था गरिदिन आग्रह गरेकाले उनीहरूलाई पनि फर्काउने पहल भएको प्रजिअ पौडेलले जनाएका छन्।
गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिम बाढी भोटेकोसीमा मिसिँदा विनाशकारी बनेको थियो ।
बाढीमा परी ११ शव फेला परेका छन् भने १८ जना अझै सम्पर्कविहीन छन् ।
बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।