विदेशमा बसेर मानव बेचबिखन

विदेशमा बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाही हुने

आप्रवासन आप्रवासन

विदेशमा बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाहीमा पर्ने गरी कानुन प्रतिनिधिसभामा पेश भएको छ ।

सरकारले ‘मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४’ लाई संशोधनका लागि प्रतिनिधिसभामा पेश भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रतिनिधि सभामा दर्ता गरेको प्रस्तावित विधेयकअनुसार नेपालबाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाहीमा पर्नेछन् ।

प्रचलित ऐनको दफा १ मा यो ऐन नेपालभर लागू हुने र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्धको कसुर गरेको व्यक्तिको हकमा समेत लागू हुने भनिएको छ ।

संशोधित विधेयकमा भनिएको छ, ‘यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर बसी नेपाली नागरिकविरुद्ध यस ऐन बमोजिमको कसुर गर्ने जुनसुकै व्यक्ति वा नेपाल बाहिर बसी जुनसुकै व्यक्ति विरुद्ध यस ऐन बमोजिमको कसुर गर्ने नेपाली नागरिकको हकमा समेत लागू हुनेछ ।’

यो व्यवस्था ऐनमा रुपान्तरित भएपछि नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने विधेयकमा उल्लेख छ ।

स्वदेशमा वा विदेशमा मानव बेचबिखन तथा ओसारपसारको कसुरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने तथा दण्ड सजायको दायरा फराकिलो बनाउने उद्देश्यले ऐन संशोधन गर्न लागिएको मन्त्री साहले उल्लेख गरेका छन् ।

मन्त्रालयका अनुसार बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत मानव बेचबिखन, विषेशगरी महिला र बालबालिका बेचबिखन तथा ओसारपसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था गर्न कानुन बनाउन लागिएको हो ।