थाइल्यान्ड र कम्बोडियाबिच हवाई आक्रमण सुरु भएको छ ।
सिएनएनका अनुसार थाइल्यान्डले लामो समयदेखि विवादित सीमामा रहेको कम्बोडियाली सैन्य अखडामा हवाई आक्रमण गरेको केही घण्टामै कम्बोडियाले पनि थाइल्यान्डमाथि रकेट आक्रमण गरेको हो ।
थाइल्यान्डले आज कम्बोडियाको दुई वटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको थाई सेनाले पुष्टि गरेको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्यान्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।
यद्यपि, आक्रमणबाट के कति क्षति भएको भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
त्यसको केही घण्टामै कम्बोडियाले थाइल्यान्डको बान नाम येन क्षेत्रमा रकेट आक्रमण गरेको हो ।
सो क्षेत्र कम्बोडियाको सीमाबाट २० किलोमिटर र थाइल्याण्डको राजधानी बैंककबाट ४०० किलोमिटरको दुरीमा छ ।
कम्बोडियाको सो आक्रमणबाट हालसम्म ८ जनाको मृत्यु भएको सिएनएनले लेखेको छ ।
कम्बोडियाको सेनाले चलाएको गोली लागेर एक थाई नागरिकको मृत्यु र ३ जना घाइते भएको भोलिपल्ट थाइल्यान्ड र कम्बोडिया आमनेसामने भएका हुन् ।
योसँगै दक्षिण पूर्वी एसियाका २ छिमेकी थाइल्यान्ड र कम्बोडिया बिचको तनावमा नाटकीय परिवर्तन देखिएको छ।
कम्बोडियाका शक्तिशाली पूर्व नेता हुन सेनसँगको फोन कल बाहिरिएपछि थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई निलम्बन गरिएको छ ।
त्यसपछि बिग्रँदै गएको सम्बन्ध आक्रमणको तहमा पुगेको छ ।