प्यालेस्टाइनलाई राज्यको मान्यता

फ्रान्सद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता

आप्रवासन आप्रवासन

फ्रान्सले प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका हुन ।

राष्ट्रपति म्याक्रोंले भने, “आजको अत्यावश्यक आवश्यकता गाजाको युद्ध अन्त्य गर्नु र त्यहाँका सर्वसाधारणको उद्धार गर्नु हो । शान्ति सम्भव छ । हामीलाई तुरुन्त युद्ध विराम, सबै बन्दीहरूको रिहाइ र गाजावासीलाई ठुलो मात्रामा मानवीय सहायता आवश्यक छ।”

योसँगै फ्रान्स प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने पहिलो जी ७ राष्ट्र बनेको छ ।

फ्रान्सले यो मान्यता राष्ट्र सङ्घको महासभाको आगामी सत्रमा औपचारिक रूपमा प्रस्तुत गरिने जनाएको छ । 

म्याक्रोंले मध्यपूर्वमा न्यायसङ्गत र दीर्घकालीन शान्तिका पक्षमा फ्रान्सको ऐतिहासिक प्रतिबद्धतामा कायम रहँदै फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने निर्णय गरेको बताएका छन् ।

यस्तै, म्याक्रोंले हमासको निःशस्त्रीकरण पनि सुनिश्चित गर्नुपर्छ, गाजाको पुनर्निर्माण र सुरक्षाको प्रत्याभूति दिनुपर्ने उल्लेख समेत गरेका छन् ।

म्याक्रोंले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई यस सम्बन्धमा पत्रमा समेत लेखेका छन् । 

फ्रान्सको यो निर्णयलाई प्यालेस्टाइन र हमासले सकारात्मक र सही दिशातर्फको कदम भनेका छन् । साउदी अरबले पनि फ्रान्सको निर्णयको प्रशंसा गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने यसलाई ‘आतङ्कलाई पुरस्कार’ भनेका छन्।

उनले भने, “७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा गरिएको हत्याकाण्डपछि प्यालेस्टाइनलाई मान्यता दिनु घोर निन्दनीय छ । यस्ता अवस्थाहरूमा प्यालेस्टिनी राज्य स्थापना गर्नु इजरायललाई नष्ट गर्ने प्रक्षेपण स्थल बनाउने हो, सहअस्तित्व होइन।”

राष्ट्र सङ्घका १९३ सदस्यमध्ये हालसम्म १४० भन्दा बढी देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिइसकेका छन् ।

तर अमेरिका, बेलायत जस्ता इजरायलका समर्थक मुलुकहरूले भने हालसम्म प्यालेस्टाइनलाई मान्यता दिएका छैनन् ।