गाजामा बिग्रँदै गएको मानवीय अवस्थाको बीचमा इजरायली सेनाले आइतबार गाजाका तीन प्रमुख क्षेत्रहरूमा रणनीतिक विराम लागू गर्ने घोषणा गरेको छ ।
यो कदमको उद्देश्य यस क्षेत्रमा द्रुत गतिमा फैलिरहेको भोकमरी र मानवीय संकटलाई केही हदसम्म कम गर्नु हो ।
सेनाले मुवासी, देइर अल-बलाह र गाजा शहरमा हरेक दिन बिहान १० देखि बेलुका ८ बजेसम्म सैन्य कारबाही रोकिने बताएको छ ।
यो रोक अर्को सूचना नभएसम्म लागू रहनेछ ।
यहाँ राहत सामग्री पुर्याउन निरन्तर कठिनाइ भइरहेको र जनसंख्या बढ्दो रूपमा खाद्य संकटको सामना गरिरहेकोले यी क्षेत्रहरू छनौट गरिएको हो ।
राहत सामग्रीका लागि सुरक्षित मार्गहरू बनाइने बताइएको छ ।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै राहत एजेन्सीहरूले खाँचोमा परेका मानिसहरूलाई खाना र अन्य आवश्यक वस्तुहरू पुर्याउन सकून् भनेर अब यी क्षेत्रहरूमा सुरक्षित मार्गहरू बनाउने बताएको छ ।
सेनाले यसले विश्व खाद्य कार्यक्रम, रेडक्रस र अन्य एजेन्सीहरूलाई मद्दत गर्न सजिलो बनाउने बताएको छ ।
इजरायल र हमासबिच जारी युद्धको बिचमा संयुक्त राष्ट्र संघ र धेरै गैरसरकारी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
गाजामा लाखौं मानिसहरू कुपोषण र भोकमरीको सामना गरिरहेका छन् ।
बालबालिका, महिला र वृद्धवृद्धाको अवस्था नाजुक बन्दै गएको छ।
यी संस्थाहरूले राहत चाँडै उपलब्ध नगराइएमा यो ठूलो मानवीय संकटमा परिणत हुन सक्ने बताएका छन् ।