डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’मार्फत अस्ट्रेलियाबाट रेमिटेन्स पठाउन सकिने भएको छ ।
‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिटेन्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै यो सुविधा पाइने भएको हो ।
योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती तरिकाबाट नेपालमा पैसा पठाउन सक्ने हाम्रो पात्रोले जनाएको छ।
अब हाम्रो पात्रो रेमिट मार्फत अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्याउन सकिन्छ।
यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने कम्पनीको भनाइ छ ।
हाम्रो पात्रोले अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गइरहेको नेपाली समुदायलाई लक्षित गर्दै, रेमिटेन्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको जनाएको छ ।
हाम्रो पात्रोकी फिनटेक निर्देशक सुदिना गौतमको अनुसार हाम्रो पात्रोको मुख्य उद्देश्य सधैँ विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो ।
"अस्ट्रेलियाबाट प्राप्त रेमिटेन्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौँ", गौतमले भनिन् ।
यस्तै, रेमिटेन्स सेवा सुरु गरेको अवसरमा हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर समेत घोषणा गरेको छ ।
जस अन्तर्गत, अस्ट्रेलियाबाट रेमिटेन्स पठाउने सुरुवाती ५ हजार प्रयोगकर्ताहरूले अस्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अस्ट्रेलियन डलर बराबर एक सय रुपैयाँको विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।