विगत पाँच दिनदेखि सङ्घर्षरत थाइल्यान्ड र कम्बोडियाबिच युद्ध विराम भएको छ ।
मलेसियामा आयोजित शान्ति वार्तापछि दुवै मुलुक युद्ध विरामका लागि सहमत भएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिएका छन् ।
प्रधानमन्त्री इब्राहिमका अनुसार दुवै मुलुक 'तत्काल' र 'सर्तरहित 'युद्ध विराममा पुगेका हुन् ।
युद्ध विराम आजै मध्यरातदेखि लागु हुने बताइएको छ ।
मलेसियामा आयोजित शान्ति वार्तामा थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता भएको हो ।
गत बिहीबारदेखि कम्बोडिया र थाइल्याण्डबीच सीमामा क्षेत्रमा सुरु भएको झडप सैन्य द्वन्द्वमा परिणत भएको थियो ।
सीमामा झडप सुरु भएको पाँचौँ दिनमा दुवै मुलुक युद्ध बिराममा सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री वेचायचाई र कम्बोडियाका प्रधानमन्त्री मानेटसँग कुराकानी गर्दै युद्ध बिराम गर्न भनेका थिए ।
ट्रम्पले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका थिए।
ट्रम्पको चेतावनी र बढ्दो आन्तरिक र बाह्य दबाबका माझ दुवै देश युद्ध विरामका लागि आइतबार मात्रै राजी भएका थिए ।
सीमा सम्बन्धी चर्किएको विवाद सैन्य झडपमा परिणत हुँदा दुवै देशमा गरी ३३ जनाको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।